टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ७ गते ९:४५
टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ ।

कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो ।

सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ ।

सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।

त्यसैले क्रिकेट मैदानमा पनि यिनीहरु लडाइ लडे जसरी उत्रने गर्छन् । जसको असर खेल क्षेत्रमासमेत देखिने गरेको छ ।

यस खेललाई जित र हात मात्र नभएर प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिन्छ ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । टी-२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए । दुवै खेल भारतले जितेको थियो ।

भारत  र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

प्रकाशित : २०७८ कार्तिक ७ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI