पालिकामा सर्वसम्मत चयन गर्न एमालेको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ९ गते ९:०७
पालिकामा सर्वसम्मत चयन गर्न एमालेको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै गाउँपालिका र नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएको छ । सबैजसो वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले मंगलबार हुने गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न मातहत कमिटीहरुलाई निर्देशन दिएको हो ।

‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न भनिएको छ, सर्वसम्मत नभए लोकतान्त्रिक विधि अपनाउन भनेका छौ’, कार्यालय सचिव शेरबहादुर तामाङले भने । उनका अनुसार सबै तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको नीति रहेको छ । कार्तिक ६ गते मुलुकभर ६ हजार भन्दा बढी वडामा भएको अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

आगामी मंसिर १० देखि १२ गतेसम्म हुने दशौं महाधिवेशनमा पनि प्रतिनिधि छनोट गर्न पनि एमालेले तल्लो तहका सबै कमिटीमा प्यानल बनाएर निर्वाचन हुन नदिने तयारी स्वरुप गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएको हो ।

दशौं महाधिवेशनको सम्मुखमा सबै तहमा नेतृत्व चयन गर्ने क्रममा एकैदिन देशभर ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका थिए । एमाले कार्यालय सचिव तामाङका अनुसार बाढी पहिरोले अवरोध भएका बाहेक सबै जिल्लाका वडाहरुमा नयाँ नेतृत्व सम्पन्न भएका हुन् ।

पाँचथर र सुनसरीमा भएको विवाद पनि समाधान गरेर ती जिल्लामा पनि चाँडै नै अधिवेशन हुने तामाङको दाबी छ । अधिवेशन हुन बाँकी केही वडामा भने एक साताभित्र भैसक्ने बताइएको छ । एमालेले पहिलो पटक वडा अधिवेशन गरेको हो । नयाँ विधान अनुसार गाउँपालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुनेछन् ।

गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

शनिबार भएको अधिवेशनले विधान महाधिवेशनले पास गरेको विधान अनुसार नेतृत्व चयन गरेको थियो भने अब हुने गाउँपालिका र नगरपालिकाको अधिवेशनमा पनि सोही विधान अनुसार नेतृत्व चयन हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे अधिवेशनको भर्चुअल उद्घाटन गर्ने भएका छन् । कार्तिक ६ गते देशभरका वडाहरुको अधिवेशनलाई भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गरेका थिए ।

मंगलबार पनि त्यसरी नै सम्बोधन गर्ने तयारी गरेका हुन् । त्यसका लागि झापा पुगेका ओली मंगलबार बिहान काठमाडौं आउने भएका छन् । ‘जसरी वडा अधिवेशनमा पार्टी अध्यक्षबाट सम्बोधन भयो त्यसरी नै पालिका अधिवेशनमा पनि सम्बोधन हुनेछ, त्यसका लागि सोमबार नै भर्चुअल रुपमा जोडिन चाहने पालिकालाई जुम आइडी र पासपोर्ट उपलब्ध गराइएको छ’, कार्यालय सचिव तामाङले भने ।

कार्तिक ६ गते पार्टी कार्यालयमा रहेको वार रुमबाट अध्यक्ष ओलीले करिब २ सय वडालाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा अध्यक्ष ओलीले पार्टीबाट खराव व्यक्तिहरु बाहिरिएपछि एमाले एक ढिक्का बनेको बताउँदै निर्धक्क भएर पार्टी काममा लाग्न निर्देशन दिएका थिए ।

प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको बताउँदै पार्टी विभाजन नभई खराब तत्वहरु बाहिरिएको बताएका थिए । ‘पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं । आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जत गर्ने खालको प्रवृत्ति अब छैन । यो एउटा खुशीको कुरा हो’, अध्यक्ष ओलीले भनेका थिए ।

उनले इतिहासमै यति ठूलो अधिवेशन एकै साथ कसैले नगरेको र विधान महाधिवेशन पनि अन्य पार्टीले नगरेको बताउँदै एमाले अहिले पनि मुलुकको पहिलो पार्टी भएको दाबी गरेका थिए ।

ओलीले संविधानले तोकेको समयमा महधिवेशन नगर्ने पार्टीहरुसमेत रहेको बताउँदै एमालेको महाधिवेशन समयमै हुने बताएका थिए । हालै ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर एमालेको विधान अधिवेशन अभूतपूर्व सफलताका साथ सम्पन्न भएको ओलीले बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नै यत्रो ठूलो सभा यति सुव्यवस्थित र उन्नत समझदारीका साथ भएको पहिलो परिघटना भएको उनको दाबी थियो ।

प्रकाशित : २०७८ कार्तिक ९ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI