कैलालीमा उपमेयरले किन दिइन् सीडीओको टाउको फुटाउने अभिव्यक्ति ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ११ गते ८:०६
कैलालीमा उपमेयरले किन दिइन् सीडीओको टाउको फुटाउने अभिव्यक्ति ?

धनगढी / जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सीडीओ किरण थापा विवादमा परेका छन् । कैलालीको गौरिगंगा नगरपालिका-१ मा नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी कार्यालय विवादमा प्रमुख जिल्ला अधिकारी थापा पनि मुछिएका हुन् । एमालेले उनीमाथि सत्ता गठबन्धनको पक्ष लिएको आरोप लगाएको छ ।

गौरिगंगा नगरपालिकाको वडा नम्बर १ स्थित एमालेको पार्टी कार्यालयमा नेकपा एसले आफ्नो दाबी राख्दै ताला लगाएको छ । तत्कालीन चौमाला गाविस हुँदा नै एमालेले प्रयोग गर्दै आएको भवनमा ८ कात्तिकमा नेकपा एसले ताला लगाएको थियो । एमालेका कायकर्ताले प्रतिरोध गरे । दुबै पक्षबीच बढ्दै गएको विवाद मंगलबार जिल्ला प्रशासन कार्यालय पुग्यो ।

तर सहजीकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले विवाद बढाउनेगरी अभिव्यक्ति दिएको एमालेको आरोप छ । सीडिओले माहोल भड्काउने अभिव्यक्ति दिएको भन्दै एमाले कार्यकर्ताले ‘सिडियोको टाउको फुट्न सक्छ’ भन्ने अभिव्यक्ति नै दिए । सीडीओले ‘एकीकृत समाजवादी पार्टी सरकारमा छ । सत्ता वालाले भनेको मान्नै पर्छ, एमालेका कार्यकर्ता शान्त बस्नु उपयुक्त हुन्छ’ भनेको एमालेको दाबी छ ।

 

यो अभिव्यक्तिले आफ्ना कार्यकर्ता झनै उग्र बनेको गौरिगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले बताइन् । उनकाअनुसार यहीँ कारण गौरिगंगा नगरपालिकास्थित वडा कार्यालय रहेको स्थानमा तनाव बढ्यो । एमाले र एसका कार्यकर्ताबीच ढुंगा हानाहान भयो । दुवै दलका कार्यकर्ताले हानेको ढुंगा लाग्दा प्रहरी निरीक्षक दानबहादुर रोकायाको टाउको फुट्यो । रोकायाको टाउकोमा टाँका लागेको छ । घटनापछि उपमेयर चौधरीले जनताका टाउका फुटे त्यसको जिम्मेवार सीडीओ हुनपर्ने नत्र सीडीओको टाउको जनताले फुटाउन सक्ने अभिव्यक्ति नै दिइन् ।

उनकाअनुसार हाल विवादमा रहेको सो भवन तत्कालीत चौमाला गाविस हुँदादेखि नै एमालेले प्रयोगमा ल्याएको थियो । एमाले र माओवादी पार्टी मिलेर नेकपा बनेपछि सोही भवनलाई नेकपा चौमाला कमिटीको कार्यालयका रुपमा प्रयोग गरिएको थियो । तर सर्वोच्च अदालतको निर्णयपछि एमाले र माओवादी अलग भए । कार्यालय केही समयका लागि प्रयोगविहीन भयो । ८ कात्तिकमा एमालेले सो कार्यालयमा आफ्नो बैठक राखेर कार्यालय सञ्चालन गरेको गौरिगंगा नगरपालिकाकी उपप्रमुख एवं एमाले ममहाधिवेशन प्रतिनिधि चौधरीले बताइन् ।

‘हामीले कार्यालय राखेपछि एसका कार्यकर्ताले निहुँ खोजेका हुन्,’ उपप्रमुख चौधरीले भनिन्,‘प्रशासनलाई मिलाई देउभन्दा उल्टै चिढाउने काम भयो, यसले कार्यकर्ता रुष्ट बनेका छन् । एसले लगाएको ताला काटेर विवाद समाधान नभएसम्म प्रशासनको ताला लगाउन पनि हामीले आग्रह गरेका थियौं । तर त्यसो भएन, प्रशासन मौन बस्दा विवाद झनै लम्बियो ।’

कैलालीका प्रमुख जिल्ला अधिकरी थापाले भने आफूले कसैलाई नचिनेको र त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरे । ‘कार्यालयका विषयमा विवाद बढेपछि अहिले सो क्षेत्र प्रहरी घेरामा राखिएको छ,’ उनले भने, ‘मैले कसैलाई काखा, पाखा गरेको छैन ।’

प्रकाशित : २०७८ कार्तिक ११ गते ८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI