भरतपुर सवस्टेशनको ट्रान्सफर्मर पड्कियो : बनाउन समय लाग्ने, लोडसेडिङ्ग हुन नदिन के गर्दैछ प्राधिकरण ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १३ गते १९:०२
भरतपुर सवस्टेशनको ट्रान्सफर्मर पड्कियो : बनाउन समय लाग्ने, लोडसेडिङ्ग हुन नदिन के गर्दैछ प्राधिकरण ?
भरतपुर सवस्टेशनमा रहेको ट्रान्सफर्मर गए राति पड्किएको छ । सवस्टेशनमा रहेका दुई मुख्य ट्रान्सफर्मरमध्ये एउटा ट्रान्सफर्मर पड्किएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिव कुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार सवस्टेशनमा रहेका दुई वटा ट्रान्सफर्मरबाट ५/५ वटा गरी १० वटा फिडर निकालिएका छन् । एउटा ट्रान्सफर्मर पड्किँदा ५ वटा फिडरमा केही समय विद्युत कटौती भयो । अहिले दश वटै फिडरलाई एउटै ट्रान्सफर्मरमा जोडिएको छ ।

औद्योगिक १, गैंडाकोट, भरतपुर १, भरतपुर २ र नारायणगढ फिडर जोडिएको ट्रान्सफर्मर पड्किएको हो ।

उनका अनुसार दुई वटै ट्रान्सफर्मर १३२/११ केभी, ३० एमभिएको क्षमताका हुन् । एउटा ट्रान्सफर्मरले १५ सय एम्पियरसम्म धान्छ । तर सवस्टेशनमा रहेका केबलको क्षमताअनुसार १२ सय एम्पियरभन्दा बढी पठाउन मिल्दैन ।

१० वटा फिडरमा गरी भरतपुर सवस्टेशनबाट १४ सय एम्पियर विद्युत खपत भइरहेको थियो । भरतपुर २ फिडरबाट करिब १०० एम्पिएर विद्युत टाँडी जान्थ्यो भने गैंडाकोट फिडरबाट १०० एम्पियर विद्युत गैंडाकोट जान्थ्यो । तत्काललाई भरतपुर २ फिडर क्षेत्रमा विद्युत वितरण गर्न टाँडी सवस्टेशनलाई जिम्मा दिइएको र गैंडाकोटमा वितरण गर्न मुकुन्दपुर सवस्टेशनलाई जिम्मा दिइएको सिंहले जानकारी दिए । यसरी एउटा ट्रान्सफर्मरले लोड धान्न सक्ने बनाइएको सिंहको भनाइ छ ।

लोडसेडिङ्ग नगराउने गरी प्रबन्ध मिलाइएको बताउँदै प्रमुख सिंहले कुनैकुनै बेला भोल्टेज भने कम आउन सक्ने बताए ।

सवस्टेशनका इन्चार्ज इन्जिनियर मिनबहादुर थापाले ट्रान्सफर्मर पड्किने बित्तिकै फल्ट इण्डिकेशनमा केही पनि नदेखिएको बताए । ब्रेकेर क्लोज गरेर हेरेपछि फल्ट इण्डिकेशनमा डिफरेन्सियल पोर्टेशन भन्ने फल्ट देखिएको उनको भनाइ छ । ‘डिफरेन्सियल पोर्टेशन भनेको ट्रान्सफर्मरभित्रको इन्टरनल प्रोटेक्शन हो । त्यो भनेको ठूलो समस्या हो । भित्रको कमजोरी पत्ता नलगाएसम्म अब ट्रान्सफर्मर अन गर्न मिल्दैन’ उनले भने ।

मुख्य अफिस हटौंडाबाट प्राविधिकहरु आएर समस्या पत्ता लगाउने काम भइरहेको उनको भनाइ छ ।

हाललाई यसअघि आयल लिकेज भइ बिग्रेर थन्काइएको २२.५ एमभिएको ट्रान्सफर्मर बनाएर त्यसैलाई जोड्न प्रयास गरिएको छ । आयल लिकेज भएको उक्त ट्रान्सफर्मर बढीमा एक हप्तामा बन्ने प्राविधिकहरुले बताएका छन् ।

उक्त ट्रान्सफर्मरमा आयल लिकेजको समस्या देखिएपछि दुई वर्षअघि नयाँ ट्रान्सफर्मर ल्याइएको थियो । तर दुई वर्षमै नयाँ ट्रान्सफर्मर बिग्रिएको हो । कम्तिममा पनि ८/१० वर्षसम्म ट्रान्सफर्मर चल्नुपर्ने भए पनि दुई वर्षमै ट्रान्सफर्मरमा समस्या देखिन थालेको हो ।

प्रकाशित : २०७८ कार्तिक १३ गते १९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI