कुलमान आफै रातिसम्म खटेर चालु गराए भरतपुरमा बन्द भएको बिजुली

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १८ गते ९:५१
कुलमान आफै रातिसम्म खटेर चालु गराए भरतपुरमा बन्द भएको बिजुली

भरतपुर । चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टासम्म अवरुद्ध भएको बिजुली गएरातिबाट चालु भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ आफै पनि फिल्डमा राति १२ बजेसम्म खटेर बिजुली चालु गराउन सफल भएका हुन् । उनले गएराति १ बजेदेखि नै भरतपुरको औद्योगिक क्षेत्र बाहेकमा बिजुली बल्न थालेको बताए ।

सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको जनगुनासो बढेपछि बुधबार दिउँसो कुलमान आफैँ भरतपुरको बसेनीस्थित सबस्टेसनमा पुगेका थिए । उनको निर्देशन पनि उक्त सबस्टेशन मर्मत भएर चार्ज भएको र बत्ती बलेको बताइएको छ ।

बिग्रेका पावर ट्रान्सफर्मर मर्मत तथा परिवर्तन गरेपछि बिजुली चालु भएको हो । अहिले आंशिक मात्रामा मात्र बिजुली बलेको र अर्को ट्रान्सफरमर पोखराबाट ल्याएर जडान कार्य भइरहेको बताइएको छ । सो जडानपछि आजै वा भोलिभित्र औद्योगिक क्षेत्रलगायत सबैतिर बिजुली बल्ने जानकारी घिसिङले दिए ।

भरतपुर महानगरपालिकास्थित १३२११ बसेनी ग्रिड सबस्टेसनका दुईवटा पावर ट्रान्सर्फमरमा समस्या आएपछि भरतपुरको ठूलो क्षेत्रमा बिजुली अवरुद्ध भएको थियो । भरतपुरका वडा १ देखि १३ सम्म अनि २९ नं. वडा र तनहुँको देवघाट क्षेत्रमा बिजुली अवरुद्ध भएको थियो । छिटो कार्य सम्पन्न गराउन कुलमान आफै रातिसम्म सबस्टेशनमा बसेर मर्मत सम्भारको निर्देशन एवं निरीक्षण गरेका थिए ।

प्रकाशित : २०७८ कार्तिक १८ गते ९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI