न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २१ गते १९:१९
न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

न्युजिल्यान्डले आइतबार आफगानिस्तानलाई आठ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो । १२५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बल बाँकी हुँदा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

यससँगै न्युजिल्यान्डले सुपर–१२ मा समूह दुईको शीर्ष दुईमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको छ । समान आठ अङ्क भए पनि नेट रनरेटका आधरमा न्युजिल्यान्ड अहिले शीर्ष स्थानमा उक्लिएको छ । तथापि पाकिस्तानले आज स्कटल्यान्डविरुद्ध खेल्दैछ । पाकिस्तानले स्कटल्यान्डलाई हराए पाकिस्तान शीर्ष स्थानमा उक्लिनेछ ।

न्युजिल्यान्डले अन्तिम चारमा स्थान बनाएपछि भारत समूह चरणबाटै बाहिरिएको छ । भारतले भोलि नामिबियाविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेल जिते पनि भारतको ६ अङ्कमात्र हुनेछ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अविजित ४० र डेभोन कोनवेले अविजित ३६ रन बनाए । ओपनर मार्टिन गुप्टिलले २८ र डारेल मिचेलले १७ रन बनाए । अफगानिस्तानका मुजीब रहमान र रशिद खानले एक-एक विकेट लिए ।

त्यसअघि नाजिबुल्लाह जर्दानले ७३ रन बनाएपछि अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

दश ओभरमा ५६ रन बनाउँदा अफगानिस्तानले चार विकेट गुमाइसकेको थियो । तर जर्दानले ४८ बलमा ६ चौका र तीन छक्कासहित ७३ रन बनाएका थिए । जर्दानबाहेक गुलबादिन नाइबले १५ र कप्तान मोहम्मद नाबीले १४ रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

ट्रेन्ट बोल्टले तीन र टिम साउथीले दुई विकेट लिए । एडम मिल्ने, जेम्स नीसम र इश सोधीले समान एक विकेट लिए ।

प्रकाशित : २०७८ कार्तिक २१ गते १९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI