सुस्तामा गस्ती बढाइयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २२ गते ९:०७
सुस्तामा गस्ती बढाइयो
फाईल तस्विर

नारायण शर्मा/पूर्वी नवलपरासी — सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूभागमा ड्रोन उडाएर फर्केपछि सीमा क्षेत्रमा नेपालले सुरक्षा सर्तकता बढाएको छ ।

सुस्तामा एसएसबीले ड्रोन उडाएको भोलिपल्ट सोमबार बिहानैदेखि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती बढाएको हो । सुस्ताको सैनिक टोलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेको छ । ड्रोन उडाइएको क्षेत्र र आसपासमा सोमबार बिहानैदेखि सशस्त्रको गस्ती देखिएको स्थानीय श्याम थापाले टेलिफोनमा जानकारी दिए ।

नेपालको अनुमतिबेगर एसएसबीले आइतबार नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको बाँध (ठोक्कर) को एक नम्बर स्थलबाट नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएको थियो ।

सशस्त्र प्रहरी बलको टोली बिहान ६ बजेदेखि नै गस्तीमा निस्किएको छ । सीमाक्षेत्रमा निगरानी र भारततर्फबाट अन्य गतिविधि नहोस् भनेर गस्ती बढाइएको सशस्त्रले जनाएको छ ।

सुस्ता क्षेत्रको सुरक्षा र सीमा अपराध अनुसन्धानका लागि प्रहरीबाट सईको कमान्ड र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा बीओपी तैनाथ छ । दुवै देशले सीमा विवाद रहेको भनेर स्वीकार गरेको क्षेत्रबाट नजिकै भारततर्फ चार स्थान (वाल्मीकि आश्रमसमेत) मा एसएसबीको फौज अड्डा जमाएर बसेको छ ।

सुस्तावासीले भारतीय सुरक्षाकर्मीकै संख्यामा नेपाली सुरक्षा पोस्ट थप्न माग गर्दै आए पनि सरकारले सुनेको छैन । सुस्ताको ७ हजार हेक्टरमा नेपालीले अवादी र खेतीपाती गर्दै आएका छन् । सुस्तामा २ सय ६५ नेपाली घरधुरी छ । करिब ४ हजार नेपाली बसोबास गर्छन् । तीमध्ये २ सय ९८ जनासँग मात्र नेपाली नागरिकता छ । सुस्तामा १९ हजार ९ सय ८० हेक्टर जमिनमा विवाद रहेको बताइन्छ ।

२०२८ सालयता भारतले नेपालको ४६ हजार हेक्टर जमिन अतिक्रमण गरिसकेको भए पनि सरकारले भारतसँग बलियो कूटनीतिक वार्ता गरेर आफ्नो जमिन फर्काउन सकेको छैन  सुस्ता र कालापानी क्षेत्रलाई नेपाल र भारत दुवै देशले ‘विवादित भूमि’ भनेर स्वीकार गरेका छन् । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश सहमत भइसकेका छन् तर त्यसलाई बेवास्ता गरेर एसएसबीले बिनाअनुमति ड्रोनबाट सीमा गस्ती र निगरानी बढाएको हो ।

(यो समाचार कान्तिपुर अनलाईनमा छ ।)

प्रकाशित : २०७८ कार्तिक २२ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI