एमाले नवलपुर : महाधिवेशन प्रतिनिधीका लागी ९७ जनाको उम्मेदवारी दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २५ गते १८:०१
एमाले नवलपुर : महाधिवेशन प्रतिनिधीका लागी ९७ जनाको उम्मेदवारी दर्ता

नवलपुर – नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधि छनोटको लागि नवलपुरमा आज मनोनयन दर्ता भएको छ । नवलपुरको दुई वटा निर्वाचन क्षेत्र र दलित तर्फ गरी ९७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक गणेश सापकोटाले बताउनुभयो ।

मनोनयन दर्ता गरेकाबाट २० जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । एमालेको १० औं महाधिवेशनको लागि नवलपुर क्षेत्र नं. १ मा खुल्ला तर्फ ४३ जनाले मनोनयन दर्ता गराएका छन् । जसबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस्तै महिला तर्फ १३ जनाले मनोनयन दर्ता गराएका छन् । जसबाट ३ जना महाधिवेशन प्रतिनिधि छनोट हुने निर्वाचन संयोजक सापकोटाले बताउनुभयो ।

नवलपुर क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा खूल्ला तर्फ २५ जनाले मनोनयन दर्ता गराएका छन् । जसबाट ६ जना प्रतिनिधि छनोट हुनेछन् । यस्तै महिला तर्फ १० जनाले मनोनयन दर्ता गराएका छन् जसबाट २ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जिल्लामा दलित तर्फबाट महाधिवेशन प्रतिनिधिको लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । जसबाट २ जना महाधिवेशन प्रतिनिधि छनोट हुने सापकोटाले बताउनु भयो । एमालेको १० औं महाधिवेशनको लागि आज बिहान १० बजे देखि बेलुका ५ बजे सम्म कावासोतीमा रहेको गणपति चलचित्र हलमा मनोनयन दर्ता भएको थियो । मनोनयन दर्ता स्थलमा बिहानै देखि एमालेका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरुको जमघट थियो ।

एमालेको महाधिवेशनमा जिल्लाबाट २० जना प्रतिनिधि छनोट हुनेमा ९७ जनाको उम्मेदवारी परेको कारण यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एमाले जिल्ला तथा केन्द्रीय तहका नेताहरुको छलफल रहेको छ । उम्मेदवारहरुलाई भोलि कात्तिक २६ गते सहमतिको प्रयासको लागि छलफल हुने एमाले स्रोतले बतायो । सहमति र दाविविरोधको लागि भोलि समय दिएको छ । सहमति नभएको अवस्थामा कसरी अगाडी बढ्ने भन्ने विषयमा एमाले वृत्तमा छलफल जारी छ । एमालेको यस पटकको महाधिवेशन प्रतिनिधि छनोटको लागि सबै पार्टीका संगठित सदस्य मतदाता रहने व्यवस्था गरिएको छ । जसको कारण चुनावी प्रक्रिया झन्झटिलो हुने देखिन्छ ।

नवलपुरमा एमालेका ११ हजार दुई सय ७९ जना संगठित सदस्य रहेका छन् । क्षेत्र नं १ मा ६ हजार सात सय २६ जना र क्षेत्र नं. २ मा पाँच सय ५३ जना संगठित सदस्य रहेका छन् । एमालेको यस अगाडी बसेको जिल्ला कमिटी बैठकबाट केन्द्रीय सदस्यहरु तिलक महत र रविन्द्र अधिकारीलाई महाधिवेशन प्रतिनिधि छनोटमा सहजिकरणको जिम्मेवारी दिएको छ । उहाँहरु दुवै जना पदेन सदस्य रहेको कारण अन्य आकांक्षी उम्मेदवारहरुबिच सहमतिको लागि उहाँहरुले छलफल तथा पहल गरिरहनु भएको छ ।

प्रकाशित : २०७८ कार्तिक २५ गते १८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI