कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २५ गते १९:४४
कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार गृह जिल्ला तनहुँमा आयोजित चियापान कार्यक्रममा पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा पुगेर पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे ।  ‘यसअघि पार्टीमा मैले पाएको जिम्मेवारीमा परीणाम आउने गरी काम गरेको छु र त्यसको मूल्यांकन पार्टीपंक्तिले गरेको नै छ । समस्याको पहिचान गरेर समाधान दिनसक्ने व्यक्तिले नै जिम्मेवारी लिने हो,’ पौडेलले भने, ‘त्यसैले आसन्न महाधिवेशनमा मैले कांग्रेसको महामन्त्रीमा उठ्ने निर्णय गरेको छु । तपाईंहरू सबैको सहयोग र सद्भावको अपेक्षा छ ।’

उनले कांग्रेसभित्र महामन्त्रीले गर्नुपर्ने आन्तरिक लोकतन्त्रको सुदृढीकरण र संगठनलाई सबल बनाउने कामलाई आफूले प्रभावकारी ढंगले सम्पन्न गर्ने बताए । उनले आफूले यसअघि नेविसंघ र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए । ‘मेरो धेरै लामो अनुभव भैसक्यो । जटिक समस्या सामाधान गर्ने विषयमा पनि मेरो अग्रसरता देखिइसक्यो । समस्या के हो भन्ने पनि थाहा छ र समाधानका उपाय के हुन् भन्नेमा पनि म स्पष्ट नै छु । त्यसैले नेपाली कांगं्रेसको संगठन चुस्तदुरुस्त र प्रभावकारी बनाउनका लागि मेरो उम्मेद्वारी महामन्त्री पदमा नै हुन्छ,’ उनले भने ।

कांग्रेसको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने पौडेल तेस्रो नेता हुन् । यसअघि गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको सदस्यमा रहेर काम गरिरहेका कारण पौडेलले महामन्त्री पदको उम्मेदवारी घोषणा गरिसकेका थिएनन् । उक्त समितिले सदस्यता विवाद बाँकी रहेका जिल्लामध्ये रसुवाको सोमबार र रौतहटको बुधबार समाधान गरेर नामावली सार्वजनिक गरेलगत्तै बिहीबार उम्मेदवारी घोषणा गरेका हुन् ।

पौडेल यसअघि नेता कृष्ण सिटौलानिकट मानिन्छन् । उनले यसपटक पनि सिटौलाकै समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । नेता सिटौलाले पनि बुधबार मात्रै १४औं महाधिवेशनमा आफू टिमसहित प्रतिस्पर्धा गर्ने बताएका थिए । त्यसको भोलिपल्टै पौडेलले पनि महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन् । यद्यपि, पछिल्लो समय सिटौला र पार्टी सभापति शेरबहादुर देउवा निकट रहेर महाधिवेशनमा जाने चर्चा चलिरहेको छ ।

पौडेलले १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी पछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए । १३औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका थिए । क्याम्पसबाट राजनीति सुरु गरेका पौडेल विद्यार्थी संगठनको सभापति समेत भएका थिए । अघिल्लो आम निर्वाचनमा पौडेल तनहुँबाट प्रदेशसभा सदस्यमा झिनो मतले पराजित भएका थिए ।

प्रकाशित : २०७८ कार्तिक २५ गते १९:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI