हिन्दू र मुस्लिम धर्मावलम्बीबीचको विवादले जनकपुरमा भोलि १० बजे रातिसम्म निषेधाज्ञा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते १६:४८
हिन्दू र मुस्लिम धर्मावलम्बीबीचको विवादले जनकपुरमा भोलि १० बजे रातिसम्म निषेधाज्ञा

धनुषा । जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घाटको विषयमा हिन्दूवादी संगठन र स्थानीय इस्लालाम धर्मालम्बबीच चलेको विवाद निषेधाज्ञा जारी गर्नुपर्र्ने अवस्थामा पुगेको छ । शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । तनावपूर्ण स्थितिलाई शान्त बनाउन पुगेको प्रहरी र उक्त समूहबीच झडप हुन पुगेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर, उक्त समूह झडपमा उत्रिँदा दुई जना प्रहरीसहित आन्दोलनकारी समूहका तीन जना घाइते भएका छन् ।

उक्त तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्रहरीले निषेधाज्ञा गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धुप्रसाद बास्तोलाद्वारा जारी विज्ञप्तिमा चार दिशा नै तोकेर निषेधाज्ञा लगाइएको छ ।

जारी विज्ञप्तिमा पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको भनिएको छ ।

आज (शनिबार) दिउँसो २ बजेदेखि भोलि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । यस अवधिमा भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने विज्ञप्तिमा भनिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीय मुस्लिम समुदायले अवरोध गरेपछि विवाद सुरु भएको थियो । उक्त विवादलाई लिएर शनिबार हिन्दुवादी संगठन विरोधमा उत्रेको थियो ।

प्रकाशित : २०७८ कार्तिक २७ गते १६:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI