कांग्रेसको महाधिवेशनमा उम्मेदवारी दिन कति शुल्क लाग्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते ९:३८
कांग्रेसको महाधिवेशनमा उम्मेदवारी दिन कति शुल्क लाग्छ ?
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पटकपटक कार्यतालिका परिवर्तन गरेको कांग्रेसले पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार कांग्रेसले सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको छ ।

कांग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक समेत तोकिसकेको छ । प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिममा दिलेन्द्रप्रसाद बडुले संयोजकको जिम्मेवारी पाएका छन् ।

महाधिवेशनमा उम्मेदवारी दिनेले उद्घाटन अघि नै उम्मेदवारका आकांक्षीहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । कांग्रेस महाधिवेशनको उद्घाटन मंसिर २४ मा हुँदै छ । त्यसको तीनदिन पहिले (मंसिर २१ गते) उम्मेदवारीले मनोनयन दर्ता गर्नुपर्नेछ ।

निर्वाचनका लागि विभिन्न तह र पदको उम्मेदवारी उम्मेदवारी मनोनयन दर्ताका लागि शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार केन्द्रीय सभापतिमा उम्मेदवार दिनेले ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ ।

उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको लागि १० हजार रूपैयाँ शुल्क लाग्ने छ ।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार, केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार रूपैयाँ शुल्क लाग्ने समितिले जनाएको छ ।

जिल्ला कार्यसमिति सभापतिमा उम्मेदवारी दिनेले १० हजार, उपसभापति र सचिवका उम्मेदवारीले सात हजार, सहसचिवकाले ६ हजार र सदस्यका उम्मेदवारीले तीन हजार शुल्क तिर्नुपर्ने समितिले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १ गते ९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI