कतारसँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १ गते १९:४५
कतारसँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

काठमाण्डाै – कतारसँगको तीन खेलको टी–२० शृङ्खला नेपाली महिला टोलीले जितेको छ । आज बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो ।

आज कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर तीन बलमा ६८ रनमा अलआउट भयो । बलिङतर्फ नेपालकी सरस्वती कुमारीले चार, रुबिना क्षेत्रीले दुई तथा सबनम राई, संगीता राई र कविता जोशीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५० रन बनाइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै अप्सरी बेगमले नटआउट २३ रन बनाइन् ।

नेपालले हिजो मङ्गलवार पहिलो खेलमा कतारलाई एक सय १९ रनले हराएको थियो । कतारसँग भोलि बिहीवार तेस्रो खेल खेलेपछि नेपाली टोली टी–२० विश्व कप छनाेट खेल्न सिधै यूएई जानेछ ।

छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ

प्रकाशित : २०७८ मंसिर १ गते १९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI