एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ५ गते १६:३६
एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार (आज) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपाध्यक्ष रावलले आफ्नो राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताएका छन् ।

त्यस्तै उनले पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरेका छन् । पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको रावलको भनाइ छ ।

उनले भनेका छन्, ‘देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतीहरूको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छ ।’

प्रकाशित : २०७८ मंसिर ५ गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI