क्षेत्र नं २ को मतगणना नहुदा काङ्ग्रेस नवलपुरको जिल्ला अधिवेशन प्रभावित हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ९ गते १८:२१
क्षेत्र नं २ को मतगणना नहुदा काङ्ग्रेस नवलपुरको जिल्ला अधिवेशन  प्रभावित हुँदै

कावासोती । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ मा मतगणना रोकिए पछि मंसिर १० गते हुने भनिएको जिल्ला कार्यसमितिको मनोनयन र ११ गतेको निर्वाचन पछाडी धकेलिने सम्भावना देखिएको छ ।

नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नं २ को गत मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनमा सभापतिका दुई जना उम्मेदवारको मत परिणाम बराबर मत बराबर भएपछि पुन:मत गणना गर्ने सहमति भएको थियो । मतगणना सकिएको ३६ घण्टा बितिसक्दा पनि उम्मेदवार र प्रतिनिधि मतगणनास्थल (कांग्रेस पार्टी कार्यालय कावासोती) मा नआएका कारण निर्वाचन समितिका प्रतिनिधिले गणना सुरु गर्न सकेका छैन ।

क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुन: मतगणना गर्ने सहमति भएको थियो । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट र गुरुङ वरिष्ठ नेता पौडेल समुहबाट उम्मेदवार बनेका थिए । मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ ।

पुन मतगणना गर्ने भनेर सहमति भए पनि उम्मेदवार र उम्मेदवारका प्रतिनिधि न आएका कारणले मतगणना हुन नसकेको बताउदै जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले यस्ले गर्दा जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित हुने सम्भावना रहेको जानकारी दिए ।

“क्षेत्रीय सभापतिको मत बराबर भएर पुन गणना गर्ने सहमति भए पनि महाधिवेशन प्रतिनिधिको मतगणना सकिएको छ तर आधिकारिक घोषणा हुन बाकी छ, यस्ले गर्दा जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ” सिग्देलले भने ।

कांग्रेसको विधान अनुसार जिल्ला सभापतिको लागि महाधिवेशन प्रतिनिधि हुनु पर्ने व्यवस्था छ तर क्षेत्र नं २ को मतपरिणाम आधिकारिक घोषणा हुन नसक्दा कार्यतालिका प्रभावित हुने देखिएको हो ।

यस अघि कांग्रेस नवलपुरको निर्वाचन समितिले मंसिर १० गते जिल्ला कार्यसमितिको मनोनयन र ११ गते निर्वाचन गर्ने कार्यतालिका प्रकाशित गरेको थियो ।

 

प्रकाशित : २०७८ मंसिर ९ गते १८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI