राप्रपा महाधिवेशन आजबाट, नयाँ नेतृत्वमा थापा-लिङ्देन भिड्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १५ गते ८:२१
राप्रपा महाधिवेशन आजबाट, नयाँ नेतृत्वमा थापा-लिङ्देन भिड्ने

काठमाडौं । राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन (बुधबार) आजबाट सुरु हुँदैछ । विभिन्न ध्रुर्वमा विभाजित रहेको राप्रपा एकीकृत भएपछि पहिलो पल्ट महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनको उद्घाटन बुधबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । राप्रपाको महाधिवेशन ११ बजे उद्घाटन हुने छ । राप्रपा एकीकरण हुँदा ३ अध्यक्षको व्यवस्था रहेको थियो भने अबको एकता महाधिवेशनबाट एक अध्यक्ष चुनिनेछन् । अझ भनौँ यो एकता महाधिवेशनबाट राप्रपाले नयाँ र एक प्रमुख नेतृत्व चुन्नेछ । मंसिर १५ अर्थात आजबाट १७ गतेसम्म हुने महाधिवेशनमा दुई नेताले अध्यक्षमा दावी गरेका छन् ।

तीन अध्यक्षमध्येका एक अध्यक्ष कमल थापालाई चुनौती दिँदै पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले पनि आफू अध्यक्षको लागि फिट भएको दावी गर्दै उम्मेदवारको घोषणा गरेका छन् । उता अन्य दुई अध्यक्ष पशुपति शमशेर जबराले सहमतिको पक्षमा उभिको बताएका छन् ।

त्यस्तै अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले भने लिङ्देनको खुलेरै समर्थन गरेका छन् । यो अवस्थामा हेर्दा यो महाधिवेशनमा थापा र लिङ्देनको कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

लामो कालदेखि पार्टी नेतृत्वमा रहेका थापाविरुद्ध लिङ्देनले आफूलाई अब्बल सावित गर्नु आफैँमा चुनौतीको कुरा हो । तर पार्टीमा युवा नेतृत्वको आवाज उठ्नु र थापाको नेतृत्वप्रति असन्तुष्टका साथै उनको कार्यशैलीबाट वाक्क भएका रहेका नेता कार्यकर्ताका लागि भने लिङ्देन लोकप्रिय बन्ने निश्चित छ । लिङ्देनलाई डा धवलशमशेर राणा, टङ्क ढकाल, राजेन्द्र गुरुङ, गोविन्दबहादुर शाह, सविन लावती, दीप शाही, हेमजङ्ग गुरुङलगायत नेताका साथ रहेको छ ।

त्यसो त उता राजनीतिको लामो यात्रासँगै राजा ज्ञानेन्द्रकै पालामा गृहमन्त्री भएका थापा अनुभवको हिसाबले धेरै माथिका नेता हुन् । उनी २०६३ सालमै गृहमन्त्री बनेका थिए ।

उनी पार्टीेमा लामो कार्यकाल अध्यक्ष रहेकाले पनि पार्टीका धेरै नेताहरुसँग उनको प्रत्यक्ष सम्पर्क तथा सम्बध छ । जसले उनलाई अध्यक्षमा मत आउनसक्छ । थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।

राप्रपामा अहिले ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि रहेका छन् ।

संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्र राप्रपाको मुख्य एजेण्डा हो ।

प्रकाशित : २०७८ मंसिर १५ गते ८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI