प्रदेश १ मा घिमिरे र थापाबीच कांग्रेस सभापति बन्न भिडन्त, कसको पल्ला भारी ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १६ गते २०:०२
प्रदेश १ मा घिमिरे र थापाबीच कांग्रेस सभापति बन्न भिडन्त, कसको पल्ला भारी ?

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन आजबाट शुरु भएको छ । उक्त क्रममा प्रदेश १ मा उम्मेदवार खडा हुने क्रम पनि चलिरहेको छ । सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच भिडन्त हुने भएको छ । थापाको उम्मेदवारीको टुंगो बिहान लागेको हो भने घिमिरेको उम्मेदवारीको टुंगो साँझमात्र लागेको हो ।

थापा झापाका पूर्व सभापति हुन् । उनले संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानलबाट उम्मेदवारी दिने तय भएको हो ।

प्रदेश १ को अधिवेशन गर्न पार्टीले सिटौलालाई संयोजक तोकेको छ । उनले आफ्नो गृहजिल्ला झापाका यसपालि पनि आफ्नो पक्षका देउकुमार थेवेलाई जिताएका छन् । सोही अनुसार प्रदेश सभापतिमा पनि उनले आफ्नैलाई ल्याउन संस्थापनसँग साझेदारी गरेका हुन् ।

यता, घिमिरे कांग्रेस संस्थापन इतरबाट साझा उम्मेदवार बनेका हुन् । उनी केन्द्रीय सदस्यसमेत हुन् ।

संस्थापन इतर पक्षले साझा उम्मेदवार तय गर्नका लागि हिजोमात्रै प्रदेशअनुसार छुट्टाछुट्टै परामर्शका लागि नेताहरु तोकेको थियो । जसमा प्रदेश १ का लागि बलबहादुर केसी, महेश आचार्य, डा। मिनेन्द्र रिजाल, डा। शेखर कोइराला, सरिता प्रसाइँ र  स्वयं घिमिरे रहेका थिए ।

टोलीले परामर्श टोलीकै सदस्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रामचन्द्र पौडेल पक्षका मानिए पनि घिमिरेलाई कोइराला परिवारको पनि साथ रहेको छ ।

कसको पल्ला भारी ? 
प्रदेश १ मा १४ जिल्ला छन् । जसमा समीकरण हेर्दा संस्थापन पक्ष हावी छ । ७ जिल्लाका सभापति संस्थापन अर्थात् शेरबहादुर देउवा पक्षका छन् । त्यस्तै एउटा जिल्ला झापामा देउवासँग एलायन्स भएको कृष्णप्रसाद सिटौला पक्षका सभापति छन् । यो हिसाबमा थापालाई ८ जिल्ला सभापतिको साथ हुनेछ ।

संस्थापन इतरतर्फ ६ जिल्ला सभापति रहेका छन् । जसमा पौडेलका ४ तथा डा. शेखर कोइराला–डा. शशांक कोइरालाका २ जिल्ला सभापति छन् ।

यो हिसाबले समीकरण कसरी अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित : २०७८ मंसिर १६ गते २०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI