यस्तो हुनेछ कांग्रेसको प्रदेश संरचना

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १६ गते २१:०२
यस्तो हुनेछ कांग्रेसको प्रदेश संरचना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । वडा हुँदै प्रदेश निर्वाचन सकिने क्रममा छ । प्रदेश संरचनाको नेतृत्व चयनका लागि आजबाट अधिवेशनको प्रक्रिया अघि बढेको छ ।

कांग्रेसले सातै प्रदेशमा नयाँ संविधानले व्यवस्था गरेको संघीयताको ढाँचामा नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो । प्रदेश संरचनाको अधिवेशनमा १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन  प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरु मतदाताका रुपमा सहभागी हुनेछन् ।

यसैगरी सम्बन्धित प्रदेश भित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनमा मतदाता हुने व्यवस्था कांग्रेस विधानको परिच्छेद ४ को १३ (१) (ग) मा व्यवस्था छ ।

यसैगरी प्रदेश भित्रका जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुख पनि मतदाता हुनेछन् । यिनीहरुलाई मतदानको मात्र अधिकार हुने विधानमा भनिएको छ । उनीहरु उम्मेदवार बन्न भने पाउँदैनन् । उनीहरुले  आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेस विधानमा व्यवस्था छ । यसैगरी प्रदेश कार्यसमितिमा सदस्यहरु पनि रहन्छन् । विधान अनुसार कोषाध्यक्ष भने मनोनित हुनेछन् ।

कहाँ कति सदस्य ?
प्रदेश १ मा पदाधिकारीबाहेक ८० जना सदस्य हुनेछन् ।

प्रदेश २ मा ६४ जना, बागमतीमा ८३ जना र गण्डकीमा  ६० जना सदस्य हुनेछन् ।

लुम्बिनीमा ६९ जना, कर्णालीमा ५१ जना तथा सुदूरपश्चिममा सबैभन्दा कम ५१  जना सदस्य कार्यसमितिमा पदाधिकारी बाहेक रहने छन् ।

 

प्रकाशित : २०७८ मंसिर १६ गते २१:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI