साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापन इतरको बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २१ गते ८:४१
साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापन इतरको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन तीन दिनमात्र बाँकी रहँदा अहिलेसम्म प्यानल घोषणा हुन सकेको छैन । संस्थापन र इतर पक्षमा आकांक्षी बढी नै भए पनि प्यानल घोषणा नहुँदा अन्योल बढेको हो । संस्थापनमा सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने बताएसँगै संस्थापनमा उनलाई पन्छाउने कोही छैनन् ।

तर संस्थापन इतरमा भने सभापतिकै साझा उम्मेदवारका लागि प्रयास हुन सकेको छैन । वडा अधिवेशन शुरु हुनु अघिल्लो दिन साझा उम्मेदवार तय हुने भनी नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरे पनि त्यसपछि भने नेताहरु आ–आफै उम्मेदवार आफू नै भएको दाबी गरेका थिए ।

महाधिवेशन नजिकिदै गर्दां इतर पक्षको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।

तर आफैं नै उनीहरु प्रचारप्रसारमा लागेकाले पनि यही नै हुन्छ भन्ने स्थिति छैन ।  र पनि प्रदेशको चुनावको नतिजा हेर्दा संस्थापन पक्ष बलियो देखिएकाले पनि मिलेर जानुको विकल्प छैन ।

यसकै लागि हिजो साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज दिउँसो १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।

इतर पक्षको आफ्नो समूह बनाएका कृष्णप्रसाद सिटौलाले पनि छुट्टै समूह बनाएर चुनाव लड्ने बताइरहेका छन् । प्रदेशमा देउवासँग गठबन्धन बनाएकाले केन्द्रमा पनि त्यो गठबन्धन हुन सक्ने सम्भावना बनेको छ ।

प्रकाशित : २०७८ मंसिर २१ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI