कांग्रेस केन्द्रीय सदस्यमा नवलपुरबाट सात जना आकांक्षी

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २१ गते १२:१५
कांग्रेस केन्द्रीय सदस्यमा नवलपुरबाट सात जना आकांक्षी

कावासोती । नेपाली कांग्रेसको यहि मंसिर २५ गते बाट सुरुहुन लागेको १४ औं महाधिवेशनमा नवलपुरबाट सात जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन ।

नवलपुरबाट गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले खुल्ला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन । २०४८ देखि निरन्तर नेपाली कांग्रेस नवलपरासीको सभापति रहेका नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने नवलपुर क्षेत्र नं १ क बाट गण्डकी प्रदेश सभामा निर्वाचित उनि गत जेठमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए ।

त्यसै गरि नेपाली कांग्रेसका महासमिति सदस्य एवं नवलपुर क्षेत्र नं २ का प्रत्यासी समेत रहेका नेता विष्णुकुमार कार्की जिल्लाबाट केन्द्रीय सदस्यका अर्का उम्मेदवार हुन । शेरबहादुर देउवा निकट मानिएका काकीले देउवा समुहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको उनि निकट स्रोतले बतायो ।

जिल्लाका अर्का नेता एवं नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति ओमबहादुर घर्ती ( ओम थापा)ले पनि आदीवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन । देउवा निकट मानिएका थापाले देउवा समुहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको उनि निकट स्रोतले बतायो ।

केन्द्रीय सदस्यमा जिल्लाबाट नेपाल शिक्षक संघकी पुर्व राष्ट्रिय उपाध्यक्ष तथा सार्क शिक्षक महासंघकी पुर्व उपाध्यक्ष समेत रहेकी विष्णुदेवी पाण्डेले पनि उम्मेदवारी दिने भएकी छिन । पाण्डेले पौडेल¬ कोईराला समुहबाट खस आर्य महिलाकोटामा केन्द्रीय सदस्य लडने बताईन ।

त्यसै गरि जिल्लाबाट राजनीतिक विष्लेशक एवं लेखक शंकर तिवारीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । गगनकुमार थापा निकट रहेका तिवारीले गगन थापा रहने समुहबाट आफ्नो उम्मेदवारी रहने प्रस्ट पारे । राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकामा स्तम्भकार रुपमा परिचित तिवारीका नेपाली कांग्रेस सँग सम्बन्धित तथा अन्य पुस्तकहरु प्रकाशित छन ।

त्यसै गरि ने वि संघ पुर्व केन्द्रीय सदस्य रहेका युवा नेता गणेश सापकोटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन । पटक पटक ने वि संघ र पार्टी भित्र विधि स्थापति हुन पर्छ भन्दै आमरण अनसन लगाएतका आन्दोलन गरेर चर्चामा आएका सापकोटा कृष्णप्रसाद सिटौला, प्रदीप पौडेल र गगन थापा निकट मानिन्छन ।

जिल्लाबाट संगठन विभागकी केन्द्रीय सदस्य समेत रहेकी महिला नेतृ सिता पाण्डे देवकोटाले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताईन । शेरबहादुर देउवा समुहबाट पाण्डेले उम्मेदवारी दिने तयारी गरेको पाण्डेले बताईन ।

 

प्रकाशित : २०७८ मंसिर २१ गते १२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI