पठन संस्कृतिको विकासका लागि कावासोतीमा अभियान सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ३ गते २२:१२
पठन संस्कृतिको विकासका लागि कावासोतीमा अभियान सुरु

प्रेम न्यौपाने/कावासोती                       कावासोती नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा पठन संस्कृतिको विकासका लागि पठन अभियान कार्यक्रम सन्चालन गरिएको छ ।

कावासोती नगरपालिका र बिट्रिस काउन्सिल नेपालको संयुक्त साझेदारीमा संचालित अभियानको शनिबार विशेष कार्यक्रमको आयोजना गरि सुभारम्भ गरिएको हो ।

सुभारम्भ कार्यक्रम कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रा कुमारी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नगरपालिका भित्रका विभिन्न ३ ओटा सामुदायिक विद्यालयहरुमा एकै दिन छुट्टाछुट्टै कार्यक्रम गरी विद्यार्थीहरुको हातहातमा पुस्तक वितरण गरिएको थियो ।

शिव माध्यमिक विद्यालय कावासोती २ , जीवन ज्योति माध्यमिक विद्यालय कावासोती ३ र ज्ञानोदय माध्यमिक विद्यालय कावासोती ८ मा अध्ययनरत विद्यार्थीहरुलाइ पुस्तक वितरण गरि अभियानको थालनी गरिएको हो ।
नगरपालिका भित्रका सबै ४० ओटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको हातहातमा पुस्तक पुर्‍याइ पठन संस्कृतिको विकास गर्ने अभियानको मुख्य लक्ष्य रहेको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले बताउनुभयो । पठन संस्कृतिको विकासका लागि विद्यार्थी मात्रै नभई शिक्षक र अभिभावक समेत जागरुक हुनुपर्ने कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले बताउँनुभयो ।

पछिल्लो समय मोबाइलमा फेसबूक टिकटक जस्ता सामाजिक सन्जालको प्रयोग निकै बढेको त्यसतर्फ विद्यार्थीहरुले बढी चासो दिने गरेकाले पठन संस्कृति हराउँदै जान थालेको अवस्थामा नगरपालिकाले सुरु गरेको पठन अभियानले विद्यार्थी र शिक्षकहरूमा पुस्तक पढ्ने बानीको विकास हुने अपेक्षा लिइएको कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले बताउँनुभयो ।

पठन अभियानका लागि बिटृश काउन्सिलबाट १२ हजार थान पुस्तक प्राप्त भएको र ति पुस्तकहरू सबै विद्यालयमा पुर्‍याई विद्यार्थीको हात हातमा वितरण गर्ने योजना रहेको पठन अभियान समिति आधारभूत तहका संयोजक एवं जनविकास विद्याश्रम आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७८ पुष ३ गते २२:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI