शिक्षक पदका लागि अनलाईन आवेदन यसरी भर्न सकिन्छ

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ३ गते २२:३१
शिक्षक पदका लागि अनलाईन आवेदन यसरी भर्न सकिन्छ

“शिक्षक सेवा आयोगले आह्वान गरेको शिक्षक पदका लागि कसरी आवेदन दिने ?” आयोगका पदाधिकारीहरु यस्तै जिज्ञाशायुक्त फोन उठाउन अचेल निकै व्यस्त छन् । आयोगले अनलाइन माध्यमबाट आवेदन दिन सकिने प्रावधान कार्यान्वयनमा ल्याएपछि कतिपय आवेदक अलमलमा परेका छन् ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा भन्छन्, “फोनबाट धेरै जनालाई सिकाइसक्यौँ । शुक्रबारसम्ममा त ३०५ जनाले आवेदन फाराम भरिसकेका छन् भने ७४ जनाले रकम तिरेर प्रवेश पत्र प्राप्त गरिसकेका छन् ।”

आवेदन फारम भर्न त्यति कठिन छैन । घरमै भर्न सकिन्छ वा विद्यालय वा साइबरमा गएर कसैको सहयोगमा पनि भर्न सकिन्छ तर आवश्यक कागजात पहिले नै तयारी राख्नुपर्ने हुन्छ । यी कागजातको प्रष्ट देखिने गरी तस्बिर खिचेर वा स्क्यान गरेर राख्नुपर्ने हुन्छ ।

सर्भर ह्याङ नहोस् भन्नका लागि आयोगले आफ्नो वेबसाइटलाई प्रयोगमा नल्याई अर्काे वेबसाइट तयार गरेको छ । online.tsc.gov.np (अनलाइन डट टीएससी डट जीओभी डट एनपी)मा लगइन गरेपछि त्यहाँ एकाउन्ट लगइन÷रजिष्टर देखाउँछ । लगइन गरेपछि ईमेल ठेगाना र पासवर्ड देखाउँछ । त्यसले मागेको कुरा उल्लेख गरिएपछि लगइन गर्नुपर्छ ।

“त्यसपछि छ डिजिटको ओटीपी (वान टाइम पासवर्ड) पठाउँछ । त्यसपछि भेरिफाइ भएको भन्छ र त्यहाँभित्र पस्न अनुमति पाइन्छ” आयोगका सूचना अधिकारी मरहठ्ठाले भने, “त्यसपछि व्यक्तिगत विवरणदेखि अनुभवका कुरा माग्छ । ती भर्दै जानुपर्छ ।”

व्यक्तिगत विवरणमा नाम, बीचको नाम र थर, लिङ्ग, जन्ममिति, नागरिकता नम्बर, नागरिकता जारी भएको स्थान, विषय भर्नुपर्ने हुन्छ । स्थायी ठेगानामा प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर भर्नुपर्छ । सम्पर्क ठेगानामा पनि स्थायी ठेगानामा जस्तै प्रदेश लगायतका विवरण भर्नुपर्ने हुन्छ ।

अध्यापन अनुमतिपत्रसम्बन्धी विवरणमा अध्यापन अनुमतिपत्र प्राप्त तह, त्यसको प्रकार, त्यसको क्रम सङ्ख्या, त्यसको प्राप्त मिति र आयोगले निर्णय गरेको मिति उल्लेख गर्नुपर्छ ।

कार्यरत अघिल्ला विद्यालयको विवरण, न्यूनतम शैक्षिक योग्यताको विवरण, तालिम विवरण, कागजातहरु आदि भर्नुपर्ने हुन्छ ।

नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातको जेपीजी फम्र्याटमा तस्बिर राख्नुपर्छ । ती तस्बिर सम्पादन गर्न सकिन्छ । तस्बिर २०० KB आकारको हुनुपर्छ । “फोटो काँटछाँट गर्नुपरेमा त्यही गर्न सकिने सुविधा राखिदिएका छौँ” उनले भने ।

यति विवरण भरेपछि स्वतः भौचर प्राप्त हुन्छ र त्यसलाई प्रिन्ट गरेर बैँकमा राजश्व तिर्न जानुपर्ने हुन्छ । नेपाल बैँक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैँकमध्ये कुनै एक बैँकमा गई राजश्व तिर्न सकिने सुविधा दिइएको छ । राजश्व तिरेपछि बैँकले महालेखा नियन्त्रणको कार्यालयलाई रकम भुक्तानी गरेको जनाउँ दिन्छ । एउटा समूहका लागि एक हजार रुपियाँ शुल्क तिर्नुपर्छ र प्रतिथप समूहका लागि छ सय रुपियाँका दरले रकम अतिरिक्त बुझाउनुपर्ने हुन्छ ।

रकम भुक्तानी गरेको करिव १५ मिनेटमा रेस्पोन्स आउँछ भन्दै आयोगका प्रशासकीय प्रमुख केशव दाहालले भने, “श्यामश्वेत प्रवेशपत्र प्राप्त हुन्छ । त्यसलाई प्रिन्ट गरेर परीक्षाका बखत ल्याउनुपर्छ । हामीले अलग प्रवेशपत्र दिदैनौँ । आवेदन फाराम भर्दा सुरुमा राखिएको पासवर्ड सम्झना हुनुपर्छ । त्यसका आधारमा जति पनि पटक प्रवेशपत्र प्रिन्ट गर्न सकिन्छ । रकम भुक्तानी गरिए लगत्तै प्रिन्ट नगरेर परीक्षा हुने बेला प्रिन्ट गर्न पनि पाइयो, होइन अहिले नै प्रिन्ट गरेर राख्छु भन्न पनि पाइयो ।” उनले त्यसरी प्रिन्ट गरिएको प्रवेशपत्रले अन्तर्वार्तासम्मलाई काम लाग्ने बताए ।

प्रकाशित : २०७८ पुष ३ गते २२:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI