दुई वर्ष पहिले गोहीबाट बचेका टकबहादुर यसपटक बाघलाई लौराले हानेर ज्यान जोगाए

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २९ गते ८:२३
दुई वर्ष पहिले गोहीबाट बचेका टकबहादुर यसपटक बाघलाई लौराले हानेर ज्यान जोगाए

नवलपुरको पर्सौनी ढोकडीका किसान टक बहादुर कुमाल यतिखेर भरतपुर अस्पताल को स्पाइल इन्ज्युरी वार्डको बेड नम्बर ९ मा आराम गरिराखेका छन्। उनको टाउको सर्लक्कै सेतो पट्टीले बेरिएको छ। ढाड र काँधमा टेप लगाइएको छ। बुहारी टेकमाया उनको स्याहार मा व्यस्त छिन्।

पुस २४ गते शनिबारको घटनाले उनलाई अस्पतालसम्म ल्याइपुर्‍याएको हो। त्यो दिन टकबहादुरले सधैंझैं गोठबाट भैंसी फुकाएर चराउँदै डेढ घन्टा परको जंगलसम्म पुर्‍याएका थिए। दिउँसो २ बजेतिर नारायणी नदीबाट वरको आहालमा पौडिएर भैंसी पहार ताप्न थाले। उनी भने भैंसी चराउन गएका गाउँका अन्यसँग गफ गर्दै थिए।

‘हामी गफिँदै थियौं, भैंसी एक्कासी उफ्रिन थाले। लौ के देखेर भैंसी तर्सिए भनेर हामीहरू चारैतिर हेर्न थाल्यौं, कोही साथी भैंसी धपाएर भाग्न थाले,’ टकबहादुरले सुनाए, ‘परको काँडाघारीले छेकिएको बाघ उफ्रिएर ममाथि आइपुग्यो। टाउकोमा दाह्रा गाड्यो, नंग्राले ढाड र काँधमा कोपार्‍यो।’

भैंसी धपाउन लिएको लाठी उनले बाघमाथि बजारे।

बाघ बुर्लुक्क उफ्रिएर अलि पर पुग्यो। साथीहरू चिच्याइरहेका थिए, धेरै मान्छे देखेर बाघ फर्किएर आएन। त्यही मौकामा हामी भाग्यौं,’ उनले भने।

भागेर आधा बाटो छिचोलेपछि गाउँका एक व्यक्ति मोटरसाइकलमा आइपुगे। त्यसैमा चढेर टकबहादुर घर पुगे। त्यतिखेरसम्म उनको शरीर रगताम्य भइसकेको थियो। तुरून्तै आटो रिक्सा खोजेर उनलाई चोरमारा प्राथामिक स्वास्थ्य केन्द्र पुर्‍याइयो।

स्वास्थ्यकर्मीहरूले सामान्य उपचार गरेर थप उपचारका लागि मध्यविन्दु अस्पताल लैजान सुझाए।

नर्सहरूले एम्बुलेन्सलाई खबर गरिदिए। हामी एम्बुलेन्स चढेर मध्यविन्दु अस्पताल पुग्यौं,’ बुहारी टेकमायाले भनिन्।

२०-२५ मिनेटपछि त्यहाँबाट भरतपुर अस्पताल रिफर गरिदिए। बाघको आक्रमणले रन्थनिएका टकबहादुरको पीडा बढ्दै गयो।

‘बाघले आक्रमण गर्दा लौ सकियो मेरो जिन्दगी भन्ने लागेको थियो, फुत्किएपछि अल्ली बल आयो। तर उपचार गर्न जाँदा अस्पतालले उपचार गर्न सकिएन भनेको सुन्दा फेरि बाँच्दिनँ कि भन्ने लाग्न थाल्यो,’ टकबहादुरले सुनाए।

मध्यविन्दु अस्पतालबाट एम्बुलेन्स चढेर भरतपुर आउँदा उनी बेहोस भए। साँझ भरतपुर अस्पताल आइपुगेपछि उपचार सुरू भयो। केहीबेरमा उनको होस खुल्यो।

टकबहादुरलाई बाघले आक्रमण गरेको चार दिन भयो। अब भने उनलाई बाँचियो भन्ने लागेको छ।

बुधबार बिहानको भेटमा टकबहादुरले विगतका कुरा पनि कोट्याउन थाले। विगतमा अधियाँमा खेतीमात्रै गर्ने गरेका टकबहादुरले भैंसी पाल्न थालेको ५ वर्ष भएछ। यो ५ वर्षमा उनको अधिकांश समय भैंसी चराउँदैमा बितेको रहेछ।

मध्यविन्दु नगरपालिकाअन्तर्गत पूर्व-पश्चिम राजमार्गको चोरमाराबाट दक्षिणतर्फको सडकमा करिब २० मिनेट गाडी चढेपछि पुगिन्छ उनको घर।टकबहादुरको गोठमा ४ वटा भैंसी छन्। ती भैंसी उनको परिवारको सबैभन्दा ठूलो आयस्रोत हुन्। पाँच वर्षयता टकबहादुरको कामै ती भैंसीलाई चराउने, दूध दुहुने, बिक्री गर्ने छ। दिनको तीन लिटर दूध बिक्री गरेर आएको पैसाले परिवारका लागि आवश्यक नुन, तेलको गर्जो टर्ने गरेको छ। यसबाहेक उनको परिवारले १५ कट्ठा जमिन अधियाँमा कमाउँदै आएको छ। यो खेतमा आँठो लगाउने, खन्ने जस्ता काम टकबहादुरको भागमा पर्छ अन्य काम श्रीमती मीना र बुहारी टेकमायाले गर्छन्। छोरा सोमबहादुर सवारी चालकको काम गर्छन्।

दुई वर्षअघि चराउन जाँदा आहाल बसेको भैंसीलाई उठाउन खोज्दा मगर गोहीले टकबहादुरको दाहिने साँप्रोमा कोपारेको थियो। त्यतिखेर उनले तीन दिन अस्पतालमा बिताए। सञ्चो भएको केही दिनमा फेरि नियमित काम गर्न थाले। गत वर्ष त्यही ठाउँमा मगर गोहीको आक्रमणबाट मुस्किलले जोगिए। आहालको भैंसी उठाउन जाँदा गोहीले पुच्छरले हानेर उनलाई लडाइदियो। तर टोक्न पाएन।

‘गैंडा त मलाई सामान्य लाग्छ। जताततै देखिने भएकाले गैंडालाई छल्दै भैंसी चराउने बानी हामीलाई परिसकेको छ,’ टकबहादुरले भने, ‘भैंसी पालेर परिवार चलाउन खोज्दा बाघ र गोहीसँग चाहिँ सिँगौरी नै खेल्नुपर्‍यो।’

केही परको अरूणखेला, तमासपुर क्षेत्रमा बाघ देखेका उनले आफूले वर्षौंदेखि भैंसी चराउने गरेको क्षेत्रमा भने पहिलो पटक देखेका थिए। त्यही पहिलो बाघले उनलाई घाइते बनायो।

माघ १ गते अस्पतालबाट छुट्टी पाउने आशामा छन् उनी। अस्पतालको बसाइमा पनि उनलाई सबैभन्दा ठूलो चिन्ता तिनै भैंसीको छ।

तिनीहरूलाई खुवाउने पराल छैन, जंगल नलगी सुखै छैन। अहिले जहानले दिउँसो फुकाएर छाडिदिने गरेका छन् रे, साथीहरूले धपाएर घरसम्म ल्याइदिँदा रहेछन्,’ टकबहादुरले सुनाए, ‘फेरि पनि गर्ने काम त उही हो। भैंसी नचराई त सुखै छैन।’

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नजिकै छ उनको घर।उनीमात्रै नभएर गाउँका धेरैले बस्तुभाउ चराउने, घाँस, दाउरा ल्याउने ठाउँ नै मध्यवर्ती क्षेत्रको जंगल हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर क्षेत्रबाहेकका ठाउँमा वन्यजन्तुको आक्रमणमा परेर घाइते भएकाहरूलाई सरकारले क्षतिपूर्ति दिन्छ। टकबहादुरको परिवारले अहिले आफ्नै खर्चमा उनको उपचार गराइराखेको छ।

घाइते भएपछि तुरून्त उपचार सुरू गर्दा बाहेकको हकमा सरकारी अस्पतालमा उपचार गर्दाको खर्च सम्बन्धित अस्पतालको सिफारिसमा नेपाल सरकारले व्यहोर्छ,’ तिवारीले भने।

बाघको आक्रमणबाट नवलपुरकै दुम्कीबासमा मंसिर ११ गते वन हेरालु र पुस १६ गते साग टिप्न घर नजिकैको जंगल गएकी मध्यविन्दु नगरपालिका–१२ की एक महिलाको मृत्यु भएको थियो।आक्रमण बढ्न थालेपछि उक्त क्षेत्रमा चितवन निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली खटाएको थियो। – सेताेपाटीबाट

 

प्रकाशित : २०७८ पुष २९ गते ८:२३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI