पिसिआर प्रयोगशालाका २ जना कर्मचारी संक्रमित : प्रदेशले जनशक्ति नपठाउदा परीक्षण रोकियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते १७:२९
पिसिआर प्रयोगशालाका २ जना कर्मचारी संक्रमित : प्रदेशले जनशक्ति नपठाउदा परीक्षण रोकियो

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा रहेको जिल्लाको एक मात्र पिसि आर प्रयोगशाला दुई दिन देखि बन्द भएको छ ।

प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण भए पछि प्रयोगशालामा पिसिआर परीक्षण बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार पिसिआर परीक्षण बन्द भए पनि एन्टिजेन परीक्षण भने रोकिएको छैन ।

परीक्षण रोकिए पछि प्रदेश सँग थप जनशक्ति माग गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरबहादुर थापाले बताए । प्रदेशले जनशक्ति पठाउन साथ परीक्षण पुन: सुरु गरिने उनको भनाई थियो । “परीक्षण रोकिए पछि प्रदेश सँग थप जनशक्ति माग गरेका छौँ, जनशक्ति आउना साथ परीक्षणसुरु हुन्छ”, थापाले भने ।

यस विषयमा कुराकानी गर्दा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विनोद विन्दु शर्माले ३/४ दिन भित्र कर्मचारी पठाउने गरि प्रक्रिया सुरु गरेको बताए । “केही कर्मचारीहरु नियुक्तिको अन्तिम तयारीमा हुनुहुन्छ, प्रक्रिया सकेर ३/४ दिन भित्र पठाउछौ”, उनले भने ।

यस बाहेक मध्यविन्दु जिल्ला अस्पतालको प्रयोगशालामा कार्यरत २ जना बाहेक एक जना चिकित्सक, ३ जना नर्स, एक जना हेल्थ असिस्टेन्ट पनि कोरोना संक्रमित भए पछि उच्च सतर्कता अपनाईएको अस्पतालका सूचना अधिकारी सुवेदीले बताए ।

अस्पतालले सामन्य अवस्थाका बिरामीहरुलाई सूचना निकालेर सकभर अस्पताल न आउन आग्रह समेत गरेको सुवेदीले बताए ।

प्रकाशित : २०७८ माघ २ गते १७:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI