प्रदेश २ को नाम मधेश दुईतिहाइले पारित

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ३ गते १८:०८
प्रदेश २ को नाम मधेश दुईतिहाइले पारित

जनकपुरधाम । प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । यसअघि ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन ।

प्रकाशित : २०७८ माघ ३ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI