मानसिक रोग र समाजले हेर्ने दृष्टिकोण

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ४ गते १२:३६
मानसिक रोग र समाजले हेर्ने दृष्टिकोण

भावना पाण्डे

नेपाली समाजले मानसिक स्वास्थ्यलाई कुन दृष्टिकोणले हेरिरहेको छ भन्ने कुरा बुझ्न मलाई पहिले देखि नै कौतुहलता जागेको थियो।मेरो वाल्यपन देखिकै मानसिक स्वास्थ्यको बारेमा जान्ने इच्छा अहिलेसम्म कायमै छ।

मेरो मानसपटलमा अझै ति यादहरू ताजै छन्। त्यसबेला म करिव छ वर्षको थिएँ। उमेरले सानै थिएँ, भनौँ काँचो माटो जस्तै।जान्ने बुझ्ने म मा त्यसबेला देखि नै उत्सुकता जागिरहेको थियो। एकदिन हजुरबुवाले भनेको एउटा कुरा अझै पनि मस्तिष्कमै ताजा छ। गाउँमा एकजना दाई डिप्रेसन रोगीको सिकार हुन्थ्यो। उहाँलाई गाउँ समाजका सुकिला मुकिलाहरूले अस्वस्थताकै कारण “पागल” भनेर तल्लो स्तरको रूपमा हेर्ने गर्दथे। भनौँ अस्वस्थताको फाईदा उठाउँदै “पागल” नामको उपनामले चिनाएका थिए। मैले हजुरबुवालाई सोधेँ “हजुरबुवा” तपाईँहरू किन बिचरा त्यो दाजुलाई “पागल” भनेर बोलाउनुहुन्छ?? हजुरबुवाले मेरो प्रश्नलाई भुईँमा खस्न नपाउँदै जवाफ फर्काउनुभयो नानी तिमी सानै छौ। यी कुराहरू बुझ्ने अझै भैसकेकी छैनौ। यी कुराहरू बिस्तारै थाहा पाईहाल्छौ नि!

टोल छिमेकका भद्र भलाद्मीहरूलाई मानसिक रोगका यि दाजु केवल दिन कटाउने छलफलका एक पात्र बनेका थिए। किनकी उनकै विपक्षमा कुरा काट्ने उनीहरूलाई बानी परिसकेको थियो। उनीहरू भन्दथे यसलाई एउटा बन्द कोठामा थुनिदिनुपर्छ। हातखुट्टा डोरीले बाँध्नुपर्छ। राँची पुर्‍याए पश्चात निको हुन्छ, यस्तै यस्तै।

म पनि त सानै थिएँ। किन कोठामा थुन्ने भनेका हुन? राँची भन्या के हो? कहाँ पर्छ? कस्तो हुन्छ म यि सबै शब्दहरूप्रति अनभिज्ञ थिए। जानकार थिईन् अझै भन्नुपर्दा बुझ्नै भैसकेको थिईन। त्यसैले मैले हजुरबुवा लगायतका भलाद्मीहरूका तिता शब्दहरू सुन्ने चेष्टा गरिन र आफ्नै काममा लागेँ।

समय बित्दै गयो। म स्कुल हुँदै उच्च माध्यामिक लेवलको पढाई सकाएँ। बिस्तारै समाजले ति दाजुलाई हेर्ने दृष्टिकोणमा फरक पाउँदै गएँ। बुझ्दै गएँ। छ बर्षको उमेरमा हजुरबुवाहरूले गरेका गफगाफहरूलाई बुझ्न थालेँ। त्यस बखतको समय र अहिले मैले बुझ्ने हुँदाको समयमा धेरै अन्तरको फरक पाएँ। स्वास्थ्यको मामिलामा सबै सचेत छन्। रोग पालेर बस्ने, रोगलाई लुकाउने भन्दा पनि त्यसलाई बाहिर ल्याउनुपर्छ। बिरामीहरूलाई समान व्यवहार गर्नुपर्छ, आफु सक्ने सहयोग गर्नुपर्छ, समयमै अस्पताल तथा नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्छ भन्ने सकरात्मक शोँचको बिकास भएको पाएँ।

समाज रूपान्तरण गर्न त्यति सहज छैन्। र छिट्टै परिवर्तन गर्न खोज्छु भन्नु पनि असान्दर्भिक हुन जान्छ। पहिले पहिलेका हजुरबुवाहरूको उमेरका व्यक्तिहरूलाई आजै वा भोलि नै सोँच बदल्छु भन्न गाह्रो छ। तर अहिलेको आधुनिक युगमा यि सबै कुराहरू सम्भव भएका छन्। प्रविधिले सत्य सावित गरिदिएको छ। किनकी हरेक असम्भव कुराहरूलाई प्रबिधिले नजिक तुल्याएको छ। सफल तुल्याएको छ।जसले गर्दा हजुरबुवाहरूलाई यी सबै कुराहरूलाई आत्मसात गर्न बाध्य बनाएको छ।

हामीहरू शारीरिक रूपमा अस्वस्थ भएका  बिरामीलाई अस्पताल लैजान्छौं। समय समयमा उसको रेखदेख गर्छौँ। तर मानसिक रूपमा अशक्त भएका बिरामीलाई पनि अस्पतालको बेड जरुरत पर्दछ भनेर हेक्का गरेनौँ। मानसीक रूपका बिरामी पनि शारीरिक जस्तै हुन् भनेर बुझियो भने उनीहरू के सधै मानसिक रूपमा अस्वस्थ भैरहन्छन् त?

म नर्सिङ्गको विद्यार्थी। हरेक प्रकारका बिरामीहरूसँग नजिक हुन्थेँ। सबै बिरामीका दु:ख सुख र भोगाईहरूलाई नजिकबाट बुझ्ने चेष्टा राख्थेँ। मलाई उनीहरूको भोगाई सुन्दा कतै अचम्म लाग्थ्यो। कतै दु:ख त कतै थप हौसला पनि। यी भोगाईहरू सम्झिँदा, नजिकबाट हेर्दा वास्तवमा जीवन केहि होईन रहेछ। जतिबेला जहाँपनि विलिन हुने खहरे खोला जस्तो। एक ठाउँमा स्थिर नहुने क्षण भरमा परिवर्तन भैरहेको मौसम जस्तै।

समाज बिस्तारै बदलिँदै छ। सकारात्मक सोँचको बिकास भएको छ। शिक्षित बर्गहरुको हावी भएको छ। सरकारले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ।अचेल बिभिन्न सञ्चार माध्यममा स्वास्थय समाचार हेडलाइन बन्छन्। साथै प्रबिधिले यसलाई सहज बनाईदिएको छ। मानसिक रोगका विरामीहरुले सहजै रूपमा मैले मानसिक रोगको औषधि खाएको छु भनेर यो समाजमा अझै पनि खुलेर भन्न सक्दैनन! हिच्किचाउँछन्। आत्मग्लानी गर्छन्। लाग्छ कि कतै म मानसिक रोगको बिरामी हो भन्ने समाजले थाहा पाईहाल्यो भने समाजले मलाई कुन दृष्टिकोणले हेर्छ? समाजले यस्ता रोगीहरूलाई स्वीकार्छ वा स्वीकार्दैन? यी यावत प्रश्नहरूका खातिर मानसिक रोगीहरू थप समाजबाट बाहिर आउन सकेका छैनन्। यस्ता मानसिक रोगीहरूलाई पहिले त परिवारको न्यानो माया, स्याहार सुसार रेखदेख जरूरत पर्दछ। परिवारले नै साथ सहयोग गर्दैन भने त्यसको अलावा समाजले उसलाई साथ दिने भन्ने अलि परको कुरा हो। उसको पालनपोषण, रेखदेख परिवारबाटै हुनु जरूरी छ। तव मात्रै उसलाई समाजले स्वीकार गर्दछ। औषधीउपचार र प्रर्याप्त मात्रामा रेखदेख पाउने भने मानसिक रोगीहरूपनि निको भएका कैयन उदाहरण छन्। जो मानसिक रोगबाट मुक्त भएर समाजसेवा तथा परिवारको सेवामा फर्किएका घटनाहरू हामीले नसुनेका होईनौँ। यस्लाई हामीले त्यति महत्व दिएनौँ र ओझेलमा परेका हुन्।

पछिल्लो समय कोभिड १९ को संक्रमण देखिएसँगै मानसिक रोगिहरूको सँख्या ह्वात्तै बढेको छ। शारीरिक रूपमा अस्वस्थ र बृद्धहरूलाई कोभिड १९ को महामारीले थप जटिलता सृजना गराएको छ। जसले गर्दा कतै मलाई कोभिड त लाग्दैन? लागिहाल्यो भने म बाँच्दिन!  भन्ने जस्ता मनका शंकाहरू उब्जिन जाँदा उनीहरू थप रोगको शिकार हुन पुगेका छन्। यी यावत बिरामीहरूलाई पछिल्लो मैले ३ बर्ष यता नजिकबाट नियालेको छु। उनीहरूलाई उच्च मनोवलका साथ परिवारको स्याहार सुसार र बिभिन्न अभ्यासहरूमा अभ्यस्त हुन नै पहिलो रोगको निदान उपचार हो भनेर सम्झाएको छु। बुझाएको छु। त्यसैले हरेक रोगलाई समान रूपमा हेर्नुपर्छ। मतलब मानसिक रोग हुँदैमा भन्न हिच्किचाउने, रोगको बारेमा डाक्टर समक्ष भन्न लजाउने र अन्य शारीरिक रोगहरूलाई सहजै भन्न सक्ने यस्ता कृयाकलापलाई दोहोर्‍याउनु हुँदैन्। रोग, रोग नै हो। ठूलो होस वा सानो। रोग लागेको छ भने समयमै स्वास्थ्य परामर्श लिउँ। रोग पालेर नबसौँ। रोगको प्रमुख उपचार भनेको तपाईँ बाट मात्र सम्भब छ। तपाईँले रोग पाल्ने वा फाल्ने तपाईँमा निर्भर रहन्छ। शारीरिक तथा मानसिक रोगलाई निर्मूल गर्नका लागि यी महत्वपूर्ण कुरालाई महत्वका साथ पालना गर्नुहोस्। सर्बप्रथम आफ्नो मनलाई स्थिर राख्ने, व्यस्त राख्ने, खुशीका साथ जिउन कोशिस गर्ने, चिन्ता नलिने, सानो सानो समस्यालाई पनि परिवारका साथ छलफल गर्ने, नियमित योग तथा प्राणायम गर्ने, स्वस्थ र सन्तुलित भोजन गर्ने र सकारात्मक सोँचको बिकास गर्नुभयो भने हरेक मानसिक तथा शारीरिक रोगहरूबाट मुक्त हुन कत्ति समय लाग्नेछैन्।

बि. एन. एस. दोस्रो बर्ष, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान ललितपुर

लेखकबाट थप

 

प्रकाशित : २०७८ माघ ४ गते १२:३६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI