२ दशकको सरकारी जागिरमा ८७ ठाउँमा जग्गा र २२ वटा घर किन्ने उपसचिव !

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ६ गते १८:४१
२ दशकको सरकारी जागिरमा ८७ ठाउँमा जग्गा र २२ वटा घर किन्ने उपसचिव !

काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

२०५५ साल वैशाख २७ गतेदेखि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुला शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्टले काठमाडौंमा मात्रै २२ वटा घर खरिद गरेका छन् ।

सुदुरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीमा निमित्त वन निर्देशक पदमा रहेका विष्टले सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा गरेको आर्थिक प्रगतिबारे अध्ययन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई २ वर्षभन्दा बढी लागेको थियो ।

उनले विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको समेत पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विष्टले काठ तथा वन्यजन्तु तस्करीमा जोडिएका मानिससँग सेटिङ मिलाउने र कमिशन लिने गतिविधि गर्दै आएका थिए । उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको फर्जी हस्ताक्षर गरेर रकम भुक्तानी लिने लगायत तस्करीमा समेत उनको समलग्नता रहेको थियो ।

गत पुस २१ गते सार्वजनिक विज्ञप्ति अनुसार अख्तियारले उनलाई ६ करोड ८७ लाख ५७ हजार विगो र स्रोत नखुलेको जग्गा जमिन राज्यको नाममा जफत गर्न भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार स्रोतका अनुसार उनले जोडेको जग्गा जमिनको अहिलेको बजार भाउमा एक अर्बभन्दा बढी जान्छ ।

ब्राम्हण परिवारमा जन्मिएका विष्टको बुवा दयानन्द विष्ट गाउँमै खेतिकिसानी र पुरोहितको काम गर्छन् । उनले अधिकांश सम्पत्ति आफ्नी श्रीमति रुबी जिसीको नाममा लुकाएको पाइएको छ ।

 

प्रकाशित : २०७८ माघ ६ गते १८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI