बगेर भारत पुगेका गैँडा नेपाल ल्याउन समस्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ९ गते ७:४०
बगेर भारत पुगेका गैँडा नेपाल ल्याउन समस्या

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो ।

नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको सो गैँडा नेपाल फर्केको मौका छोपी नेपाली प्राविधिकले उद्धार गरेर निकुञ्ज फर्काएका हुन् ।

निकुञ्जका पशु चिकित्सक डा.विजय श्रेष्ठले भने, “एउटा वयस्क गैँडा त्रिवेणीको उखुबारीमा भेटिएको स्थानीयवासीले खबर गरेपछि निकुञ्जको प्राविधिक टोलीले त्यसलाई उद्धार गरेर यतै (निकुञ्ज) ल्याएको हो ।” तर भारत पुगेका गैँडा र अन्य वन्यजन्तु फर्काउन त्यति सहज छैन । गैँडा उद्धार प्राविधिक टोलीका संयोजकसमेत रहेका डा। श्रेष्ठले भने, “बगेर वा कुनै कारणले भारत पुगेका गैँडा कहिले फर्कन्छन् र उद्धार गरेर फर्काउन सकिन्छ भनेर कुरेरै बस्नुपर्ने बाध्यता छ ।”

छवटा हात्ती परिचालन गरेर २० जनाको टोलीले गैँडालाई डार्ट (बन्दुकबाट बेहोस बनाउने औषधि दिने कार्य) गरेर उद्धार गरिएको हो”, डा. श्रेष्ठले भने ।

यसरी उद्धार गरी ल्याइएको गैँडालाई सौराहा नजिकैको निकुञ्जको मध्यवर्ती क्षेत्रको कुमरोज सामुदायिक वनमा छाडिएको थियो । निकुञ्ज भएर बगेका नारायणी, राप्तीजस्ता नदीमा बाढी आउँदा वन्यजन्तु बगेर भारत पुग्छन् ।

यसरी बगेर गएका वन्यजन्तु नेपाल फर्काउन गारो छ । यद्यपि तीन वर्षयता चारवटा गैँडालाई नेपाली भूमिमा फर्केको मौका छोपी उद्धार गरिएको निकुञ्जले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित : २०७८ माघ ९ गते ७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI