जुनसुकै बेलामा निर्वाचन भएपनि सामना गर्न तयार छौं : ओली

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ९ गते १४:३४
जुनसुकै बेलामा निर्वाचन भएपनि सामना गर्न तयार छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले पाँच दलीय गठबन्धनका नेताहरुले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने कार्ड फ्याँकेर स्थानीय तहको निर्वाचन पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गतल नियतले अगाडी सारिएको आरोप लगाएका छन् ।

‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी ओलीले गत वर्ष आफुले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् ।

‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्र्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?’ भनेर उनले पाँच दलीय गठबन्धनका नेतासंग प्रश्न गरेका छन् ।

प्रकाशित : २०७८ माघ ९ गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI