ओलीले मागे २४ लाख खोपको हिसाब, सरकार सबैतिरबाट असफल भएको टिप्पणी !

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ९ गते १४:३९
ओलीले मागे २४ लाख खोपको हिसाब, सरकार सबैतिरबाट असफल भएको टिप्पणी !

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै असफल भइसकेको बताएका छन् । कोरोना महामारीको तेस्रो लहर फैलिरहेका बेला सरकार गैरजिम्मेवार समेत बनेको उनले आरोप लगाएका छन् ।

आइतबार एक वक्तव्य निकाल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकार सबै कोणबाट असफल भइसकेको बताएका हुन् । यसैकारण नागरिकहरुमा समेत सरकारप्रति निराशा र आक्रोश बढिरहेको उनको भनाइ छ ।

अहिले अर्थतन्त्रका हरेक सूचक समेत नकारात्मक रहेको ओलीले बताए । कोरोनाको नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको, उल्टै जनताका लागि ल्याइएको खोप हराएको समेत बताए । २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै बताइरहेको भन्दै ओलीले त्यत्रो खोप कसले लुकायो या बेच्यो भन्ने प्रश्न गर्दै हिसाबकिताब समेत मागेका छन् ।

शुक्रबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका उपलब्धि सुनाउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए । त्यसको जवाफस्वरुप ओलीले आज पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सुुनाउे कार्यक्रम थियो । तर ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित गर्दै उनले वक्तव्य जारी गरेका हुन् ।

ओलीले स्थानीय तहकाे निर्वाचन पर धकेल्न गठबन्धनका नेताहरू नै लागिपरेकाे र राजनीतिक अस्थिरता मच्चाउने खेल भइरहेकाे समे बताएका छन् । साथै बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणका आरोपीहरुको फाइल फिर्ता झिकाएर अभियुक्तहरुलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको आरोप समेत लगाएका छन् ।

 

 

 

 

 

 

प्रकाशित : २०७८ माघ ९ गते १४:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI