हिजोभन्दा आज चिसो, तराईमा शितलहर, यस्तो हुनेछ आइतबारसम्मको मौसम

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १४ गते १२:४७
हिजोभन्दा आज चिसो, तराईमा शितलहर, यस्तो हुनेछ आइतबारसम्मको मौसम

काठमाडौं । चिसो दिनानुदिन बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो भएको छ । हिजोको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस भएकामा आज ४ डिग्री मात्र रहेको छ ।

आज सबैभन्दा कम जुम्लामा माइनस ५ डिग्री सेल्सियस तथा डडेल्धुराको १.१ रहेको छ । त्यस्तै ०.४ मिलिमिटर वर्षासमेत भएको ओखलढुङ्गाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

ताप्लेजुङमा १.६, वीरेन्द्रनगरमा ४.७ तथा पोखरामा ६.७ रह्यो । अधिकतम तापक्रम विराटनगरमा २०.१ अनुमान गरिएको छ । काठमाडौंमा १४ डिग्री सेल्सियससम्म मात्र हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश भागमा शितलहर चलेको छ । अधिकांश भागमा हुस्सु र कुहिरो लागेका कारण घाम देखिएको छैन ।

दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

प्रकाशित : २०७८ माघ १४ गते १२:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI