आरोपी मण्डलसहित ३ जना सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २१ गते १३:०३
आरोपी मण्डलसहित ३ जना सार्वजनिक

नवलपुर । आफ्नै साझेदारहरुको हत्या गरेको आरोपमा अनिलकुमार मण्डलसहित तीन जनालाई प्रहरीले पक्राउपश्चात् सार्वजनिक गरेको छ ।

आर्थिक कारोबारमा विवाद भएपछि साझेदारहरुको हत्या गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । आरोपीहरुमा सिराहा नगरपालिका– २१, सिरहा घर भई काठमाडौँको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका– ४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका– ७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् ।

घटनाका मुख्य आरोपी अनिल मण्डल रहेको र उनकै योजनामा आफ्ना साझेदारहरु ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या गरिएको प्रहरीको भनाइ छ । हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बुको शव भने बिहीबार ललितपुर महानगरपालिका– १२ स्थित ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।

उनीहरुले सुरुमा लिम्बुको हत्या गरेर त्यसपछि योजनाबद्ध रुपमा श्रेष्ठ र चौधरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका आरोपीहरुले लिम्बुको गत मंसिर २८ गते नै हत्या गरेको र त्यसपछि २९ गते २९ गते उनीहरु विराटनगर पुगेको खुलेको थियो । मुख्य आरोपी अनिलको जग्गा प्लटिङ र हाइड्रोपावर परियोजनासम्ममा लगानी रहेको प्रहरीको भनाइ छ । कारोबार रकम एकलौटी पार्ने उद्देश्यले साझेदारहरुको हत्या भएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी छ ।

प्रकाशित : २०७८ माघ २१ गते १३:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI