भवन अभावमा त्रिवेणी नाकामा स्वास्थ्य परीक्षण झन्झटिलो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २५ गते २०:५३
भवन अभावमा त्रिवेणी नाकामा स्वास्थ्य परीक्षण झन्झटिलो

नारायण शर्मा/पूर्वी नवलपरासी
भारतसँग सीमा जोडिएको त्रिवेणी नाकाबाट आउजाउ गर्नेको स्वास्थ्य परीक्षण गर्न कार्यालय भवन नहुँदा समस्या उत्पन्न भएको छ । उक्त कार्यालयको भवन निर्माणका लागि भारतले अनुमति नदिँदा नाका क्षेत्रमा स्थायी रुपमा कर्मचारी खटाउन सकिएको छैन ।मेलेरिया, कोभिड जस्ता महामारी तथा रोगको अवस्था पत्ता लगाउन सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । तर त्रिवेणी नाकामा नेपालतर्फको भूभाग गण्डक नहरको जग्गा (क्षेत्र) पर्ने र त्यहाँ कुनै पनि संरचना बनाउन भारतको अनुमति लिनु पर्ने भएकाले भवन बनाउन नसकिएको नेपाली पक्षको गुनासो छ ।

नेपाल पक्षका अधिकारीहरूका अनुसार पक्की भवन बनाउन नेपाल तर्फको भूभागमा एक किलोमिटर उत्तरतर्फ जानु पर्ने अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईँका अनुसार नाकामा कम्तीमा १५ शैय्याको अस्पताल र स्वास्थ्यकर्मी आवास बनाउन प्रदेश सरकारले समेत चासो देखाएको छ । तर पर्याप्त जग्गा भने छैन । नाकामै स्वास्थ्य कार्यालय हुन नसक्दा आउजाउ गर्नेको स्वास्थ्य परीक्षणमा कठिनाइ भएको चापागाईँ बताउँछन् । गण्डक ब्यारेज (नेपाल-भारत आउजाउ गर्ने पुल)बाट टाढा भवन बनाउँदा स्वास्थ्य परिक्षण कार्य पनि जटिल हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ । त्यसो त नाका हुँदै आउजाउ गर्नेहरूलाई एक किलोमिटर टाढाको स्वास्थ्य चौकीमा परिक्षण गर्न लैजान पनि जटिल हुन्छ । हाल बिनयी त्रिवेणी गाउँपालिकाले त्रिवेणीनाकामा त्रिपाल टाँगेर बनाएको अस्थायी छाप्रोमा स्वास्थ्य परिक्षण गर्दैआएको छ ।

नाकामा २४ सै घण्टा स्वास्थ्य परिक्षण गर्नु पर्ने भएकाले वर्षा याममा त्रिपालमुनि स्वास्थ्य परीक्षण गर्न नसकिने स्वास्थ्यकर्मीहरूको गुनासो छ । यसअघि नेपाल प्रवेश गर्नासाथ प्रयोगशालासहितको स्वास्थ्य कार्यालय बनाउन खोजिए पनि जग्गा नभएका कारण समस्या थपिएको बताइन्छ । गण्डक ब्यारेज हुँदै नेपाल आउनासाथ गण्डक भारतीय पश्चिम नहरको जग्गामा पर्ने हुँदा पनि थप समस्या देखिएको हो । सिमानामा नारायणी नदीले नेपाल र भारतलाई छुटयाएको छ । वारि नेपाली भूभागको सबै जग्गा भारत लगिएको गण्डक पश्चिमी नहरको क्षेत्र पर्ने भएकाले भवन निर्माण गर्ने जग्गा नभएको नेपाल पक्षको भनाइ छ ।

बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर जिसीका अनुसार नेपाली भूभागमा पर्ने भारतीय नहरको जग्गामा पक्की भवन निर्माण गर्न भारतको अनुमति चाहिने भएकाले झण्झटिलो हुँदैआएको छ । यद्यपि केन्द्र सरकारबाट नै भारतीय गण्डक नहर (जुन नेपाली भूभाग हो) मा अनुमति लिएर बनाउन पहल गर्न जिसीले माग गरे ।

प्रकाशित : २०७८ माघ २५ गते २०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI