No ads found for this position

प्रहरीले गोली चलाउँदा एक गाँजा तस्करको मृत्यु, एक जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १२ गते १३:०२
No ads found for this position
प्रहरीले गोली चलाउँदा एक गाँजा तस्करको मृत्यु, एक जना पक्राउ
No ads found for this position

बारा — नेपालबाट भारततर्फ लागूऔषध गाँजा तस्करी भइरहेको सूचना पाएर एम्बुस थापेर बसेका प्रहरीको गोली लागेर तस्कर समूहका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अर्का एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका २ मौवाही टोलबाट पश्चिममा पर्ने बनकट्टी चौरीको चोकमा घटना भएको हो । घटनास्थलबाट नेपाल-भारत सिमाना डेढ किलोमिटर टाढा पर्छ । मृत्यु हुनेमा भारत विहारको मोतिहारी जिल्लाअन्तर्गत घोडासहनका ३५ वर्षीय लखिन्द्र महतो कहार रहेको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सुवेदीले बताए ।

उनको ढाडभन्दा तल गोली लागेको छ । गोली लागेपछि उपचारका लागि कलैया लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको साथबाट मोबाइलसमेत बरामद गरिएको छ । प्रहरी निरीक्षक सुवेदीका अनुसार उनीहरू गाँजाको पोका बनाएर पिठ्यूँमा झोला भिडाएझैं गरी गाँजा तस्करी गरिरहेका थिए ।

मृतककै गाउँ नजिकका पिप्रा ग्राम – ४ का अर्का ४० वर्षीय हृदेश गिरीलाई भने नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुवेदीले बताए । उनीहरूको साथबाट पोका बनाई राखिएको ७५ केजी गाँजासमेत बरामद गरिएको उनले बताए । तस्कर समूहका अन्य ६/७ जना फरार भएको उनले जानकारी दिए । सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली त्यहाँ पुगेको थियो ।

‘राती पौने एघार बजेको थियो, हामी संयुक्त टोली गाँजा तस्कर आउँछ भनेर सूचना पाएपछि एम्बुस थापेर बसेका थियौं । यतिकैमा तस्करहरूसित जम्काभेट भएपछि नियन्त्रणमा लिन खोज्यौं,’ उनले भने, ‘तर‚ उनीहरूले सुरक्षकर्मीमाथि आक्रमण गर्न खोज्दा आत्मरक्षाका लागि प्रतिरक्षा गर्दै फायर खोल्दा एक जनालाई गोली लाग्यो । अर्कोलाई नियन्त्रणमा लियौं ।’

मृतक गाँजाको कारोबार गर्ने साहु र नियन्त्रणमा परेका लखिन्द्र ज्यालादारीमा भरियाको काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

सीमा क्षेत्रमा एक वर्षयता लागूऔषधको ओसारपसार बढेको प्रहरीकै तथ्याङ्कले पुष्टि गरेको छ । प्रत्येक महिनाको चार/पाँच पटक लागूऔषध बरामदसँगै त्यसका कारोबारी पक्राउ पर्ने गरेकाले सीमा वारि र पारि लागूऔषधको कारोबार बढेको सुरक्षा अधिकारीहरू स्विकार्छन् ।

प्रकाशित : २०७८ फागुन १२ गते १३:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI