नेपाल रेल्वेको उद्घाटन आज

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १९ गते ७:५७
नेपाल रेल्वेको उद्घाटन आज

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गर्ने भएका छन्। तीनदिने भारत भ्रमणमा रहेकै समयमा भारतीय प्रधानमन्त्रीको आवास हैदरावाद हाउसमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्।

शनिबार १२ बजेदेखि १२:३० बजेका बीचमा रेल्वेको उद्घाटन गर्ने समय तालिका रहेको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। दुवै देशका प्रधानमन्त्रीले उद्घाटन कार्यक्रम आम जनतालाई देखाउनका लागि भारतको जयनगर र जनकपुरधाममा लाइभको व्यवस्थासमेत गरिएको झाले बताए। रेल्वेले जनकपुरधामस्थित स्टेसनमा गेट, पण्डाल निर्माण गरेको छ।

जयनगरमा अतिविशिष्ट व्यक्तिहरू मात्रै रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम सिधा देखाइने महाप्रबन्धक झाले बताए। दिल्ली उद्घाटनपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान हुनेछ। प्रत्येक स्टेसनमा स्कुलका बालबालिकाले नेपाल भारतको झन्डा लिएर रेल्वेको स्वागत गर्ने कार्यक्रम छ। झाले भने ‘प्रत्येक स्टेसनमा १५ जना विद्यार्थी नेपाल भारतको झन्डा बोकेर रेलमा सवार हुनेछन्, उनीहरूलाई समेत त्यही रेलमा चढाएर कुर्थासम्म ल्याउने कार्यक्रम छ।’

रेल कुर्था पुगेपछि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवलाई चढाएर जनकपुरधामस्थित स्टेसनसम्म ल्याइने छ, जहाँ उद्घाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका रहेको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरसम्म चल्ने रेल दिनको दुई पटक गुडाइनेछ। यद्यपि शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा उद्घाटन गरेपछि एक पटक मात्रै गुड्ने बताइएको छ।

त्यसपछि बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ। त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि प्रस्थान गर्नेछ। सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए। जयनगर पुगेको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए। यो समय रेल्वे नियमित यात्रुहरूका लागि सञ्चालनमा ल्याइनेछ।

कुर्थादेखि जयनगरसम्मका लागि जनरल बगीको ९० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै एक स्टेसनबाट अर्को स्टेसनसम्मका लागि जनरल बगीका लागि २० रुपैयाँ एसी बगीमा १ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ।

गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) दैनिक एक पटक सञ्चालनमा आइरहेको थियो। नेपालको इनर्वादेखि कुुर्थासम्म गरी नेपाल रेलको सुरक्षामा १ सय ३६ जना प्रहरी खटाइएको छ। ठाउँठाउँमा रहेको कुल २२ वटा लेवल ट्रयाक क्रसमा रेल्वे गुड्ने समयमा आवतजावत बन्द गराउनका लागि २२ जना कर्मचारी खटाइएको महाप्रबन्धक झाले बताए। कुल ८ वटा स्टेसनमध्ये ७ वटामा टिकेटिङको व्यवस्था गरिसकिएको छ। परवाहा स्टेसनस्थित भवन निर्माणकार्य हाल जारी नै रहेको छ। भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत् दुवैबाट चल्ने यो दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनी कोकर्णको दाबी छ।

डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन्। प्रतिघण्टा ११० किलोमिटरको स्पिडमा चल्न सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रु सवार हुन सक्नेछन्। एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बगीमा ७० वटा सिट रहेको छ। २० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र ४ वटा जनरल बगी छ। यो रेलले प्रतिकिलोमिटर दुई लिटर डिजेलको एभरेज दिनेछ। प्रत्येक बगीमा शौचालयको व्यवस्था गरिएको छ यसका साथै एसी बगीबाहेक अन्य जेनरेल बगीमा ठाउँठाउँमा पंखासमेत लगाइएको छ।

१९९४ मा ब्रिटिस कम्पनी सरकारले नेपालको जंगलबाट काठ ओसार्न लाइन विस्तार गरेको थियो। त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो। पछि भारत सरकारले १८ वटा बगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो। २०५१ सालदेखि स्टिम इन्जिन युक्त रेल सञ्चालनमा आएको थियो। २०६१ माघदेखि रेल बन्द थियो। रेल्वे अहिले न्यारोगेजबाट ब्रोडगेजमा  परिणत गरिएको छ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भइरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी भइसकेको छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ।-अन्नपूर्ण पोस्टबाट

प्रकाशित : २०७८ चैत १९ गते ७:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI