नवलपुरमा ओरालो लागेको कांग्रेस

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ६ गते २१:२३
नवलपुरमा ओरालो लागेको कांग्रेस

सन्जय भट्टराई/नवलपुर ।

२०७४ को स्थानिय तहको निर्वाचनमा जिल्लाका ८ वटा स्थानिय तह मध्य ६ वटा स्थानिय तहमा जित हासिल गरेर जिल्लाको ठूलो दल बनेको नेपाली कांग्रेसले २०७९ वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचन सम्म आईपुग्दा मुस्किलले २ वटा स्थानिय तहमा विजय हासिल गर्यो ।

जिल्लाका कुल ९२ वटा वडामध्य अघिल्लो पटक ५६ वटा वडाको नेतृत्व गरेको कांग्रेसले यस पटक मात्रै ४१ वटा वडामा जित निकाल्यो ।

पछिल्लो ५ वर्षको अवधीमा कांग्रेसले नवलपुरमा ६ वटा पालिकाको नेतृत्व मात्रै गरेन यो बिचमा जिल्लाबाट प्रदेश सांसद बनेका कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बने । स्थानीयतहको निर्वाचनको करिब एक वर्ष अगाडी संघीय तथा प्रदेश सरकारको नेतृत्व कांग्रेसलेनै गर्‍यो । स्थानीय तहको निर्वाचनको केही महिना अगाडी भएको पार्टीको जिल्ला अधिवेशनमा पाका र अनुभवी मानिएका महेन्द्रध्वज जिसिलाई सर्वसम्मत पार्टी सभापतिको रुपमा पायो, जिल्लाबाट समानुपातिक सुचिमा रहेका उद्योगी विनोद चौधरी र पुर्व महामन्त्री शंशाक कोइराला पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भए । जिल्ला अधिवेशनमा सभापति सर्वसम्मत चयन हुँदा गुट व्यवस्थापन भएको र कांग्रेस बलियो भएको भान कार्यकर्तामा भयो तर स्थानिय तहको निर्वाचनको परिणामले जिल्लाका आम कार्यकर्ताको आसा र भरोसालाई भताभुङ्ग बनाईदियो ।

संघ र प्रदेशमा आफ्नो पार्टीको सरकार, ६ वटा स्थानिय तहमा कांग्रेसकै नेतृत्व हुँदा आखिर किन नवलपुरमा नमजाले कांग्रेस ओरालो लाग्यो त ? यस्को उत्तर नवलपुरका आम कांग्रेस कार्यकर्ताले खोजी रहदाँ पार्टीको जिल्ला नेतृत्व भने मौन देखिएको छ । अझ रोचक कुरा त के छ भने पाँच दलिय गठबन्धन गर्दा पनि ६ वटा पालिका बाट २ वटा र ५६ वडा बाट ४१ मा खुम्चिदा जिल्ला सभापति महेन्द्रध्वज जिसिले बधाई तथा धन्यवाद ज्ञापन गर्दै विज्ञप्ति निकाले । जिसिद्वारा जारी विज्ञप्तिमा २ वटा पालिका जित्दा बधाई भनिएको छ तर पराजयको विषयमा विज्ञप्ति मौन देखिएको छ ।

त्यसो त जिल्ला सभापति महेन्द्रध्वज जिसिको गृह नगर देवचुली नगरपालिका र उनको आफनै वडा देवचुली-१६, प्रदेश महामन्त्री विष्णु लामिछानेको गृह पालिका बौदीकाली र उनको आफ्नै वडा बौदीकाली-१ मा कांग्रेस पराजित हुँदा समेत पराजयको विषयमा नेतृत्व गम्भीर देखिएको छैन ।

पार्टीका पुर्वमहामन्त्री एवं वर्तमान केन्द्रिय सदस्य डा. शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली , केन्द्रिय सदस्य विनोद चौधरी, प्रदेश महामन्त्री विष्णु लामिछाने, पाका र अनुभवी भनिएका जिल्ला सभापति महेन्द्र ध्वज जिसि, संघीय सांसद सत्यनारायण खनाल जस्ता हस्ती भनिएका नेताहरुको जिल्लामा कांग्रेस गठबन्धन सहित चुनावमा जाँदा नराम्ररी पराजित भए पछि नेताहरुको क्षमता माथीनै यति बेला नवलपुरका कांग्रेस कार्यकर्ताले प्रश्न उठाएका छन ।

टिकट वितरणमा चरम असन्तुष्टि, असन्तुष्ट पक्षको उचित व्यवस्थापन, गठबन्धन गर्दा पर्याप्त विचार नपुर्‍याउनु र गठबन्धन प्रती ईमानदार नहुदा कांग्रेसको यो हालत भएको कांग्रेस वृतमै चर्चा छ । जिल्लाको गैंडाकोट र हुप्सेकोट बाहेक कांग्रेसको गढ मानिएक बुलिङ्गटारमा अध्यक्षमा पराजित हुनु, जिल्लामा अघिल्लो पटक नेतृत्व गरेको देवचुली, मध्यविन्दु, विनयी त्रिवेणी पराजित तथा जिल्ला सदरमुकाम कावासोतीमा मात्रै ४ वटा वडामा खुम्चिनु कांग्रेसका लागि भने भविष्यमा हुने संघ र प्रदेशको निर्वाचनका लागि यस्ले अँध्यारो भविष्य देखाएको छ ।

कांग्रेस नेतृत्वले निकालेको विज्ञप्तिमा पराजयको समीक्षा गर्न छोडेर धन्यवाद र बधाईमा मात्रै खुम्चिनुलाई हतास र अतालिएको अवस्थामा पुगेको भन्दै कांग्रेस वृतमै चर्चा सुरु भएको छ ।

भर्खरै सम्पन्न भएको निर्वाचनको गम्भीर समीक्षा र लेखाजोखा गरेर उचित कदम नचाल्ने हो भने आगामी संघिय र प्रदेशको निर्वाचनमा कांग्रेस अझै कम्जोर र निरन्तर ओरालो लाग्ने बाटोमा हिडने पक्कापक्की छ ।

 

प्रकाशित : २०७९ जेठ ६ गते २१:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI