नवप्रवेशी गुजरात फाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ११ गते ९:४८
नवप्रवेशी गुजरात फाइनलमा

काठमाडौं । कप्तान हार्दिक पाण्डेय र डेभिड मिलरले उत्कृष्ट प्रदर्शन गरेपछि नवप्रवेशी गुजरात टाइटन्सले बुधबार राति राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२ क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।

कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । १८९ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै गुजरातले फाइनलमा स्थान बनाउँदा पराजित राजस्थान भने क्वालिफायर–२ मा पुगेको छ । राजस्थानले अब इलिमिनेटरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलोरबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

गुजरातको जितमा मिलरले ३८ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ६८ रन बनाएर । उनले कप्तान हार्दिक पाण्डेयसँग चौथो विकेटका लागि १०६ रनको अविजित साझेदारी गरेका थिए । हार्दिक पाण्डयले २७ बलमा पाँच चौकासहित अविजित ४० रन जोडे । सुबमन गिल र म्याथ्यु वेडले समान ३५ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले एक/एक विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको राजस्थानका लागि जोस बट्लरले ८९ रन बनाए पनि टिमलाई जिताउन असफल रहे । उनले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । कप्तान सञ्जु सामसनले ४७ रन जोड्दा देबदुतप्याडिकलले २८ रन बनाए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका मोहम्मद शामी, यश दयाल, रवी श्रीनिवानसन साई किशोर र हार्दिक पाण्डयले एक/एक विकेट लिए ।

प्रकाशित : २०७९ जेठ ११ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI