कावासोतीमा नेतृत्व विकास सम्बन्धि दुई दिने कार्यशाला सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते १२:३१
कावासोतीमा नेतृत्व विकास सम्बन्धि दुई दिने कार्यशाला सुरु

प्रेम न्यौपाने/नवलपुर । कावासोती नगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयको विद्यालय सुधार योजना निर्माण तथा नेतृत्व विकास सम्बन्धि दुई दिने कार्यशाला आजदेखि सुरु भएको छ ।

कावासोती नगरपालिकाका भित्र संचालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुको क्षमता विकासका लागि नेतृत्व विकास र विद्यालय सुधार योजना निर्माण सम्बन्धि कार्यशाला सुरु भएको हो । बिट्रीश काउन्सिल र कावासोती नगरपालिकाको साझेदारीमा संचालित होल स्कूल डेभलपमेन्ट प्रोग्राम परियोजना अन्तरगत कार्यशालाको आयोजना गरिएको हो । आजदेखि २ दिन सम्म चल्ने कार्यशालामा पालिका भित्रका ४० वटा सामुदायिक विद्यालयका विद्यालय व्यस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरु गरि १ सय २० जनाको सहभागिता रहेको छ ।

कार्यशाला प्रा वि, नि मा वि र मा वि तहको छुट्टाछुट्टै समूहमा सन्चालन हुनेछ । परियोजनाले विगत २ वर्ष देखि कावासोती नगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरूको क्षमता विकास तालिम लगाएतका विभिन्न शैक्षिक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

यसैबीच कार्यशालाको एक समारोहका बीच आज उदघाटन गरिएको छ । उदघाटन कार्यक्रम कावासोती नगरपालिका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको अध्यक्षता एवं कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उदघाटन कार्यक्रममा नगर उपप्रमुख फूलकुमारी थनेत, कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ, बिट्रीश काउन्सिलको नेपाल स्थित कार्यालयका कन्ट्री डाइरेक्टर साहिदा म्याक्डोल र ४० वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकाका स्रोत शिक्षक एवं परियोजना संयोजक तिर्थराज कंडेलले गरेका थिए ।

प्रकाशित : २०७९ जेठ २४ गते १२:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI