नारायणघाट बुटवल सडक आयोजना : म्याद सकिन एक महिना बाकी प्रगति मात्रै १८ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ३ गते १६:०१
नारायणघाट बुटवल सडक आयोजना : म्याद सकिन एक महिना बाकी प्रगति मात्रै १८ प्रतिशत

सन्जय भट्टराई/ नवलपुर ।

करिब १७ अर्बको लगानीमा बिस्तार गर्न लागिएको पुर्व पश्चिम् राजमार्गको बुटवल नारायणघाट सडक खण्ड यति बेला अलपत्र अवस्थामा छ ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तर सडक बिस्तार गर्ने समय अवधि सकिन एक महिना बाकी रहदाँ सम्म मात्रै १८ प्रतिशत काम हुँदा सर्वसाधारणले भने सास्ती बेहोर्न परेको छ ।

चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको छ। साढे तीन वर्ष मा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनु पर्नेमा समय सकिन एक महिना मात्रै बाकी रहदा १८ प्रतिशत मात्रै काम भएको आयोजनाको गैंडाकोट दाउन्ने खण्डका प्रमुख रमेश दिष्टिले बताए ।

दिष्टिले पछिल्लो समय १२ वटा ठुला पुल मध्ये ११ वटामा निमार्णको काम भैरहेको र विनयी त्रिवेणीको ज्यामिरे खोलाको पुलको काम वर्षा पछि मात्रै सुरु गरिने बताए । दिष्टिका अनुसार २२ वटा साना पुल मध्ये १५ वटामा काम भैरहेको छ । काम भएका १५ वटा मध्ये ९ वटा पुलमाथी बाट नै यस वर्षा अगाडीनै गाडी चल्ने दिष्टिको दाबी छ ।

सडक बिस्तारको कामले गति लिन नसक्दा वर्षातको समयमै सडक पुरै हिलाम्य हुन सुरु भएको छ । आयोजनामा पर्ने साना ठुलो अधिकांश पुलको काम सम्पन्न नहुदाँ भत्काएको ठाँउमा बनाइएका डाईभर्सननै वर्षातको समयमा सडक अवरुद्ध हुने प्रमुख कारण बन्ने निश्चित देखिएको छ ।

सडक निमार्णको सम्झौता भए देखि निर्माण सम्पन्न नगर्दा सम्म सडक मर्मत गर्ने जिम्मा पनि निमार्ण कम्पनीकै हुने गरि सम्झौता भए पनि निमार्णको ठेक्का पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले भने सम्झौता अनुसार सडक मर्मतको काम नगर्दा यातायात अवरुद्ध तथा सडक दुर्घटनाको जोखिम बढेको छ भने यो सडक भएर समयमा गन्तव्यमा पुग्ने कुरा कल्पना मात्रै हुने गरेको छ ।

सम्झौता अनुसार सडक निमार्ण सुरु भए पछि मर्मतको जिम्मा पनि चिनिया कम्पनीको भएको भन्दै सडक डिभिजन र जिल्लाका स्थानीय तहहरु चिनिया कम्पनीले भत्केको सडक मर्मत गर्नु पर्ने बताउछ्न ।

वर्षा याममा डाइभर्सन लगाएतका निर्माण कार्य भैरहेको क्षेत्रमा यात्रुले दुख नपाउन भनेर आयोजना प्रमुख, ठेकेदार कम्पनी, र परामर्शदाता लाई आवश्यक निर्देशन दिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । “भत्केको र बिग्रेको सडक ठेकेदार पक्षलेनै बनाउनु पर्छ, यो विषयमा जिल्ला प्रशासनले आवश्यक समन्वय गरेको छ, वर्षाको समयमा यो बाटो भएर हिडने यात्रुले दुख नपाउने गरेर काम गर्न आवश्यक निर्देशन दिएका छौ” प्रजिअ घिमिरेले भने ।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। तर यो मितिभित्र निर्माण सकिने सम्भावना छैन।

दुवै खण्डका योजना प्रमुखहरूकाअनुसार निर्माण कम्पनीले समयमै सडक निर्माणको काम नसकिने जानकारी गराएर कन्सल्ट्यान्टलाई म्याद थप्न पत्र पठाएको छ।

‘निर्माण कम्पनीले सम्झौतामा भएको प्रावधानअनुसार म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरिसकेको छ। अहिले कन्सल्ट्यान्टले उनीहरूले गरेको काम र अब काम सक्न लाग्ने समयको विषयमा मूल्यांकन गरिरहेको छ,’ दिष्टीले भने, ‘कन्सल्ट्यान्टले मूल्यांकनपछि हामीलाई जानकारी गराउँछ। त्यहीअनुसार म्याद थपको निर्णय हुन्छ।

म्याद थपको काम अगाडी बढेको पुर्वी क्षेत्रका आयोजना प्रमुख दिष्टिले बताईरहदा हिउँद भरी धुलोले आक्रन्त भएका स्थानीय र यो बाटो भएर यात्रा गर्ने यात्रुले यस पटकको वर्षामा पनि विगतका वर्षहरुमा झै हिलाम्मे सडक र सवारी जामबाट छुटकारा पाउने सम्भावना भने देखिदैन ।

शुक्रबार बिहान मात्रै यहि सडकको दुम्किबास बजार नजिक बाढिले डाईभर्सन बगाउदा १० घण्टा जति यातायात अवरुद्ध भएको थियो । निर्माण कम्पनीले यो वर्षामा डाईभर्सनमा समस्या नआउने दाबि गरे पनि निर्माण कम्पनी तयारी र कामको गति देख्दा सडक अवरुद्ध हुने समस्याबाट यो बाटो भएर यात्रा गर्ने यात्रु र स्थानीयले तत्काल छुटकारा पाउन भने सम्भव देखिएको छैन ।

प्रकाशित : २०७९ असार ३ गते १६:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI