हैजाले लैजालाः दूषित पानी, सडकको पानीपुरी र चटपटे नखाऔं, बचौं यसरी

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १७ गते ९:४८
हैजाले लैजालाः दूषित पानी, सडकको पानीपुरी र चटपटे नखाऔं, बचौं यसरी

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले हैजाका रोगीहरु बढ्दै गएका छन् । यसको प्रमुख कारण दूषित पानी र खानेकुरा नै हो । निरन्तर बिरामी बढेसँगै सचेचना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । तर के के गर्दा के हुन्छ भन्नेतर्फ खासै चाँसो न त सम्बन्धित निकायलाई छ न त सर्वसाधारणलाई नै ।

पानीपुरी, चटपटे लगायतमा प्रयोग भएको पानीमा हैजाका किटाणु भएका कारणले महानगरले त्यसको प्रयोगमा रोक लगाएको हो । अर्थात् काठमाडौं उपत्यकामा वितरित पानी दूषित छ ।

पानीमा ढल मिसिएका घटनाहरु पुराना भएका छैनन् । यसतर्फ सम्बन्धित निकाय गैरजिम्मेवार भएपछि यो दुर्घटना निम्तिएको हो । स्वस्थ्य खान पाउनु आम नागरिकको अधिकार हो । तर यहाँ वितरण गरिने पानीदेखि लिएर खानेकुरासम्म दूषित छ ।

पटक पटक दूधसमेत दूषित भएका घटनाहरु आइरहेका हुन्छन् । यस्तो कूकार्य गर्नेलाई कारबाहीसमेत नभएपछि अपराधीहरु स्वभावैले हौसिएका छन् ।

पानीपुरी खाँदा हुन सक्ने यी रोग –
पानीपुरी खाँदा हैजा, जन्डिस, पाचन क्रियामा समस्या, पखाला, अल्सर, कलेजोमा समस्या, बान्ता, आन्द्रामा समस्या हुने चिकित्सकहरु बताउँछन् । त्यस्तै नूनको मात्र बढी हुने भएकाले उच्च रक्तचाप पनि हुने चिकित्सकहरुको भनाइ छ ।

पानीपुरी, चटपटे सडकका किनारामा नै बनाइन्छ । पानीपुरी र चटपटेमा प्रयोग हुने उक्त पानी सामान्यतया सुकेको आँप, इमली, कागतीजस्तो चिजबाटै बनाइन्छ । खट्टा बनाउनका लागि प्रयोग हुने यी चिज सिजनअनुसार प्रयोग गरिएको हुँदैन ।

कतिपय अवस्थामा टेष्टी बनाउने नाममा ट्वाइलेटमा प्रयोग गरिने हर्पिकसमेत मिसाएका घटना बाहिर आएका थिए । पानी खट्टा बनाउन हाइड्रोक्लोरिक एसिड, टार्टेरिक एसिड, अक्जेलिक एसिड लगायतका एसिडको प्रयोग हुने गरेको छ ।

यसबाहेक पुदिना, धनियाँको सट्टामा हरियो बनाउन आर्टिफिसियल कलरकोसमेत प्रयोग भएको हुन्छ । यही एसिड र आर्टिफिसियल कमलका कारण पानीपुरी र चटपटे ‘स्लोपोइजन’ बन्न जान्छ ।

त्यस्तै एउटै तेलको पुनः प्रयोग गरिँदा पनि त्यो झन् खतरनाक हुन जान्छ । पानीपुरी त्यस्तै तेलको प्रयोगबाटसमेत बनाइएको हुन्छ । किनकि ठेलावाला होस् वा जुनसुकै होटल, रेस्टुरेन्ट किन नहोस् बचेको तेल कसैले पनि फाल्दैनन् । पुनः प्रयोग गर्दा त्यो विषालु तेल बन्न जान्छ ।

वर्खायाममा बच्ने पाँच उपाय–
–पानी उमालेर पिउने
–तातो चिज खाने
–डाइटमा अदुवा, लसुन र कागती समावेश गर्ने
–आधा काँचो सागसब्जी नखाने
–सडकमा पाइने कुनै पनि चिज नखाने ।

त्यसैगरी सरसफाइलमा ध्यान दिनुका साथै झिँगा भन्किन नदिने । झिँगा उत्पन्न हुनै नदिने गरी सरसफाइ गर्ने ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजालाई पखालाको गम्भीर रुप भनेर चिनिन्छ । दूषित पानीमा पाइने भाइब्रिओ कोलेरा ब्याक्टेरिाय जब शरीरमा पुग्छ तब हैजा लाग्छ । जहाँको पानी दूषित हुन्छ त्यस्तो पानी प्रयोग गर्ने सबैलाई हैजा लाग्छ । यो यति खतरनाक हुन्छ कि बिरामीलाई सीधै आईसीयूमा पुर्याइदिन्छ ।

हैजाका लक्षण–
–पेटमा अचानक गडबडी
–उल्टी
–रक्तचाप कम हुनु
–मुटुको चाल बढ्नु
–मुख, घाँटी र आँखा सुख्खा हुनु
–प्यास बढी लाग्नु
–मांसपेशीहरु दुख्नु
–थकान हुनु
–उच्च ज्वरो आउनु
–पिसाब लागिरहनु ।

प्रकाशित : २०७९ असार १७ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI