कांग्रेसको बटमलाइन : सय सिट, ९० नघट्ने ! माओवादी गर्दैछ बार्गेनिङ

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन २६ गते १२:३८
कांग्रेसको बटमलाइन : सय सिट, ९० नघट्ने ! माओवादी गर्दैछ बार्गेनिङ

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धनमा सय सिटमा दाबी गरेको छ ।

गठबन्धनको कार्यदलको बैठक आज पनि बोलाइएको छ । माओवादी नेता देव गुरुङका अनुसार दिउसोतिर बैठक बस्ने छ ।

त्यहाँ सबै दलले आआफ्ना दाबी प्रस्तुत गर्नेछन् । उनका अनुसार अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल प्रवेश भएको छैन ।

तर कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार सय सिटमा कांग्रेसको दाबी छ । “हाम्रो दाबी सय सिटमा हो,” उनले भने, “सय सिट बटमलाइन हो तर हामी ९० भन्दा तल गएर सम्झौता गर्दैनौँ ।”

सरकारले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेलगत्तै गठबन्धनभित्र चुनावी तालमेल गर्ने लिखित सहमतिअनुसार अहिले गठबन्धनको कार्यदलले आन्तरिक गृहकार्य गरेको हो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा गठबन्धनमा आबद्ध सबै दलहरूबाट प्रतिनिधित्व छ ।

उक्त कार्यदलको पहिलो बैठक गएको सोमबार बसेको थियो । सिट बाँडफाँडको ‘मोडालिटी’ बनाउनुपूर्व सबै पार्टीले आ–आफ्नो दलभित्र छलफल गर्ने र पुनः कार्यदलको बैठक बस्ने निर्णय भएको थियो ।

कार्यदल सदस्य तथा एकीकृत समाजवादीका नेता प्रवेश हमालका अनुसार पार्टीभित्र छलफल गरेपछि आ–आफ्ना मोडालिटी कार्यदलको बैठकमा प्रस्तुत गरिनेछ ।

“दलभित्र हामीले कुन मोडालिटीलाई प्राथामिकता दिने भनेर छलफल सुरु गरेकै छैन । हामी दलभित्र छलफल गरेर बिहीबारको बैठकलाई तयारी गर्छौँ,” हमालले बाह्रखरीसँग भनेका थिए ।

१६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति दिने, कसले कुन क्षेत्र छाड्ने भनेर दलहरू गृहकार्यमा जुटेका छन् । शीर्ष नेतृत्वबाहेक सबै दलका अरू नेताहरूले सम्मानजनक सिट बाँडफाँड नभए क्षति हुने बताइरहेका छन् ।

पार्टी पहिलो शक्ति बन्न कम्तीमा सय सिट आफूहरूले पाउनुपर्ने र बाँकी रहने ६५ सिट मात्र अरू दलका लागि छाड्न कांग्रेस सभापति शेरबहादुर देउवालाई पदाधिकारी र नेताहरूले दबाब दिइरहेका छन् ।

यसअघि सोमबार बिहान देउवाले बोलाएको पदाधिकारी, पूर्वपदाधिकारीहरू तथा प्रभावशाली नेताहरूको छलफलमा पनि सय सिट आफूलाई राखेर अरू सिट छोड्नपर्ने सुझाव पदाधिकारी र पूर्वपदाधिकारीबाट आएको थियो ।

गठबन्धनको मोडालिटी फाइनल भइनसके पनि दलहरू आफूले ०७४ सालमा जितेको ठाउँ त्याग गर्ने तयारीमा छैनन् ।

०७४ को निर्वाचनमा माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको थियो । तर, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताले माओवादी परित्याग गरेपछि यो सिट ३३ मा खुम्चेको छ ।

अहिले एकीकृत समाजवादीको प्रत्यक्षमा आठ सिट छ । बाबुराम भट्टराईको पार्टीसँग पनि प्रत्यक्षतर्फ दुई सिट छ ।
यस्तो अवस्थामा कसरी सिट बाँड्ने भन्ने अन्योल सत्ता गठबन्धनमा छ ।

गठबन्धनको नेतृत्वकर्ता भएका कारण अरू दल कांग्रेससँग ‘बार्गेनिङ’ गर्ने भूमिकामा छन् । तर, कांग्रेस आफैँचाहिँ सिट व्यवस्थापनको संकटमा छ ।

०७४ मा कम्युनिस्टहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दा कांग्रेसका प्रभावशाली नेताहरू समेत पराजित भएका थिए ।

ती नेताका निर्वाचन क्षेत्रमा एमालेको सहयोग लिए पनि धेरै ठाउँमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू निर्वाचित भएका छन् ।

अहिले सिट बाँडफाँडको मोडालिटी बनाउँदा जितको ठाउँमा सम्बन्धित पार्टीकै उमेदवार जिताउने प्रस्ताव स्वाभाविक रूपमा आउनेछ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा ती दलले पाएको मत थोरै हुँदा कांग्रेस नेताहरूको निर्वाचन क्षेत्र व्यवस्थापनमा निकै चुनौती देखिएको कांग्रेसका एक नेता बताउँछन् ।

“रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मा, मोहन बस्नेतलगायतका प्रभावशाली नेताको ठाउँमा हामीसँगै गठबन्धनमा रहेका नेताहरुले जित निकालेका छन्,” कांग्रेसका ती नेताले भने, “उहाँहरुको लागि हामीले सिट लिनुछ भने गठबन्धनमा रहेका अन्य दलको पनि चित्त बुझाउनुपर्ने छ । हामीलाई चुनौती यहीँनेर लागेको छ ।”

त्यस्तो अवस्थामा माओवादीले कांग्रेससँगको सहकार्य अन्त्य गर्ला त ?

माओवादीका एक नेताका अनुसार अहिले वाम गठबन्धनका लागि पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढ्दो छ । त्यसैले अन्तिम समयसम्म केही भन्न सकिने अवस्था नरहेको उनको धारणा छ ।

उनले आफू पनि वाम गठबन्धनकै पक्षमा रहेको खुलस्त पारे ।  कांग्रेसका अर्का एक प्रभावशाली नेता भने त्यो कुरालाई स्वीकार्न तयार देखिँदैनन् ।

“माओवादीको यो रणनीति हो,” उनले भने, “एमालेलाई देखाएर हामीसँग बार्गेनिङ गर्ने माओवादीको पुरानै रणनीति हो ।”

प्रकाशित : २०७९ साउन २६ गते १२:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI