No ads found for this position

चुनावका लागि १० अर्ब लाग्‍ने, एक करोड ८२ लाख मतदाता

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ३१ गते १०:१३
No ads found for this position
चुनावका लागि १० अर्ब लाग्‍ने, एक करोड ८२ लाख मतदाता
File Photo: Balot Box
No ads found for this position

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ ।

सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जूमाको काम गरेको छ । मिति घोषणापछि तयारीका लागि आयोगलाई एक सय सात दिन समय उपलब्ध छ ।

निर्वाचनका लागि खर्च करिब रु १० अर्ब लाग्ने र कूल मतदाता सङ्ख्या करिब एक करोड ८२ लाख हुने आयोगको अनुमान छ । मतदाता नामावली अद्यावधिक कार्य प्रारम्भ, मतदानस्थलको पुनरावलोकन र समानुपातिकतर्फको निर्वाचन कार्यक्रम पनि स्वीकृत गरिसकेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा आयोगले अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि सूचना प्रकाशित गरी आह्वान समेत गरी सकेको छ । आगामी निर्वाचनमा करिब १० हजार आठ सय २५ मतदानस्थल र अस्थायीबाहेक करिब २२ हजार ५०० मतदानस्थल रहने छन् ।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा आगामी निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका मतदातालाई मताधिकार हुनेछ । निर्वाचनलाई विश्वासनीय तुल्याउन मतगणनास्थलमा सिसीटीभीको जडान र अनुगमन कार्यको थालनी आयोगले यस अघिकै निर्वाचनबाट प्रारम्भ गरिसकेको छ ।

राष्ट्रिय मान्यता प्राप्त बाहेकका अन्य दललाई पनि सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गरी आयोगले स्वावासी कमाइ सकेको छ । मतदाता शिक्षाको ढाँचा परिवर्तन गरी आयोगले डिजिटल माध्यममा जोड दिएको छ । आयोगले अघि सारेको मतदाता शिक्षा सम्बन्धि नीतिकाकारण प्रति मतदाता खर्चमा उल्लेख्य कटौति भएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदरमत प्रतिशत घटाउन आयोगले विषय विज्ञ र राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर सम्वाद गरी सुझाव  कार्यान्वयन गर्दैआएको छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृती लिई सञ्चालनमा रहेका बृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारको व्यवस्था गर्ने आयोगको सोच रहेको बताइएको छ । निर्वाचनलाई स्वतन्त्र र स्वच्छ तुल्याउन आयोगले विभिन्न तहमा अनुगमन समयन्त्र मार्फत चुनावलाई भड्किलो र खर्चिलो हुनबाट रोक्न भगिरथ प्रयास गरिरहेको छ ।

निर्वाचनलाई प्रभाव पार्ने मिथ्या सूचना र दुष्प्रचारलाई रोक्न अनुगमनको प्रभावकारी समयन्त्रको व्यवस्थाको शुरुवात गरी सकेको छ । निष्ठाको राजनीतिलाई प्रोत्साहन गर्न आयोगले उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पति विवरण लिने तथा उम्मेदवारको योग्यता, राजीनामा, पेश्की, बेरुजु आदि विषयमा स्वघोषणा लागू गर्ने सोच अघि सारेको छ । आयोगले ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निश्पक्ष तुल्याउन मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचन कार्यतालिकामा बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामाग्री व्यवस्थापन, ढुवानी, अनुगम तथा मतदान र मतगणनासम्मका विषयबस्तु समेटिएको छ । उनले भने, ‘स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले सबै कामलाई योजनाबद्ध र व्यवस्थित ढङ्गबाट अघि बढाइरहेको छ, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, मितव्ययी बनाउन हामी तीव्र गृहकार्यमा छौँ ।’ रासस

 

प्रकाशित : २०७९ साउन ३१ गते १०:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI