No ads found for this position

बाबुराम र वामदेव माओवादीको शरणमा, हँसिया हथौडाबाट चुनाव लड्ने

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन ३१ गते १५:५२
No ads found for this position
बाबुराम र वामदेव माओवादीको शरणमा, हँसिया हथौडाबाट चुनाव लड्ने
No ads found for this position

संघीय संसदको निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको शरणमा परेका छन् । उनीहरु दुवैले माओवादीको निर्वाचन चिन्ह हँसिया हथौडाबाट निर्वाचन लड्ने भएपछि पार्टीको शरणमा परेका हुन् ।

पूर्व प्रधानमन्त्री डा भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने तयारी गरेका हुन् ।

त्यसैका लागि साउन २५ देखि २९ सम्म भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए । त्यसैगरी प्रचण्डले साउन २९ मै वामदेव गौतमसँग छलफल गरेका थिए । हात्तीवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको एक अपार्टमेन्टमा साउन २९ मा प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुसँग वामदेवको छलफल भएको थियो ।

भेटवार्ताम वामदेवलाई पनि चुनावमा माओवादीकै चिन्ह्रमा निर्वाचन लड्न माओवादी नेताहरुले आग्रह गरेका थिए । माओवादीको आज बसेको बैठकले डा. भट्टराई र गौतमलाई माओवादीकै चुनाव चिन्हबाट संघीय संसदमा उठाउने प्रस्ताव पारित गरेको हो ।

गौतम अहिले राष्ट्रिय सभा सदस्य छन् । तर उनी त्यहाँबाट राजीनामा दिएर प्रतिनिधि सभामै चुनाव लड्न चाहिरहेका छन् । उनको त्यही चाहना बुझेरै प्रचण्डले वामदेवलाई पनि आफ्नै पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न आग्रह्र गरेका छन् ।

गौतमले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका थिए । तर ओलीले माओवादीसँग तत्कालै पार्टी एकता संभव नभएको र माओवादी सच्चिएर कांग्रेसको साथ छाडेर आए कार्यगत एकता भने संभव रहेको बताएपछि गौतम माओवादीतिर टाँस्सिएका थिए ।

उनले नेकपा एसलाई पनि माओवादीकै चुनाव चिन्हबाट लड्न प्रस्ताव गरेको भए पनि एसका नेता कार्यकर्ताहरुले नमानेपछि आफूमात्रै त्यता गएका हुन् । एमालेबाट विभाजित भएको एसलाई सहयोग गरिरहेका गौतमले एस पार्टी एक्लैको मतले चुनाव जित्ने अवस्था नदेखिएपछि उनी माओवादीको चुनाव चिन्हतिर आकर्षित भएका हुन् ।

डा. भट्टराई र गौतमका कारण माओवादीप्रति कम्युनिष्ट नेता कार्यकर्ताहरुको खास आकर्षण रहँदैन । भट्टराई यसअघि माओवादीबाटै विभाजित भएका कारण उनीसँग रहेका ९० प्रतिशत माओवादी कार्यकर्ता यसअघि नै माओवादीमा फर्केका छन् ।

त्यसैगरी वामदेवसँग रहेका नेता कार्यकर्ताहरु एमाले र एस पार्टीमा रहेका कारण गौतमले माओवादीलाई मत थप्न सक्ने अवस्था छैन । उनी एक्लै माओवादीबाट चुनाव लड्ने र उनलाई कांग्रेस र माओवादीले सहयोग गर्नुको विकल्प रहेको छैन ।

यो पृष्ठभूमिमा न त वामदेवले एमालेको भोट काट्न सक्नेछन् र न त विद्धान बाबुरामले एमालेसहितका अन्य कम्युनिष्ट पार्टीका मत काट्ने नै छन् । केवल आफूहरु असुरक्षित महसुस गरेरै वामदेव र बाबुराम माओवादीको चुनाव चिन्ह हँसिया हथौडाको सहारामा आएको स्पष्टै हुन्छ ।

प्रकाशित : २०७९ साउन ३१ गते १५:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI