नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १२ गते ९:४५
नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री
नवलपुर । गत साल २०७८ भरि प्रकाशित कृतिमध्ये डा. नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई यस वर्षको मदन पुरस्कार दिइने भएको छ । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । कवि, गीतकार तथा हाल रेडियो नेपालको समाचार महाशाखा प्रमुख भएर सञ्चारकर्मीका रुपमा समेत कार्यरत डा. नवराज लम्सालका धरा, कर्ण लगायत महाकाव्य समेत प्रकाशित छन् ।

यसैगी बैठकले यस सालको जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरेको छ । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन्।

गुठीका अनुसार २०७८ सालको मदन पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएका थिए । त्यसको सर्ट लिस्टमा ८ जना छनोट भएका थिए । डा लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ उत्कृष्ट आठमा छानिएका थिए । यी मध्ये निर्णायक मण्डलले अग्निलाई पुरस्कारका लागि छनोट गरेको हो ।

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो।

गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम चार हजार रुपैयाँ रहेकोमा २०७५ सालदेखि चार लाख रुपैयाँ भएको थियो ।

यसैगरी गुठीले रानी जगदम्बाको स्मृतिमा ‘जगदम्बा–श्री’ सम्मान २०४५ सालमा स्थापना गरेको हो ।

प्रकाशित : २०७९ भदौ १२ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI