श्रीलंकासँग अफगानिस्तानलाई पराजित, भारत–पाकिस्तान भिड्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ १९ गते १०:१०
श्रीलंकासँग अफगानिस्तानलाई पराजित, भारत–पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर–४ को पहिलो खेलमा श्रीलंकाले शनिबार राति अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ ।

शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य श्रीलंकाले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै श्रीलंकाले समूह चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । समूह ‘बी’को पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई आठ विकेटले पराजित गरेको थियो ।

गए राति अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुरबाजले ४५ बलमा चार चौका र ६ छक्का प्रहार गरेका थिए ।

अफगानिस्तानका इब्राहम जर्दानले ४० रन जोडे । नाजीबुल्लाह जर्दानले १७ र हजरातुल्लाह जजाईले १२ रन बनाए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका दिलशान मदुशानकाले दुई विकेट लिए । महिश थिकशाना र असिथा फर्नान्डोले एक/एक विकेट लिए ।

१७६ रनको लक्ष्य पूरा गर्ने क्रममा श्रीलंकाका कुसल मेन्डिसले ३६, पाथुम निसान्काले ३५, धनुष्का गुनथिलकाले ३३, भानुका राजपाक्षेले ३१, कप्तान दासुन शानकाले १० रन बनाए । वनिन्दु हसरंगा डी सिल्भा १६ रनमा अविजित रहे ।

अफगानिस्ततानका मुजिब रहमान र नवीन–उल–हकले समान दुई विकेट लिए । रशिद खान र मोहम्मद नाबीले एक/एक विकेट लिए ।

एसिया कपमा आज दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने हुँदै छन् । समूह चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । पाकिस्तानसामु उक्त हारको बदला लिने अवसर छ ।

प्रकाशित : २०७९ भदौ १९ गते १०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI