पुरातत्त्व विभागद्वारा सिख्रौलीमा ४ सय वर्ष पुरानो शैलीको मन्दिर निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २१ गते ८:०७
पुरातत्त्व विभागद्वारा सिख्रौलीमा ४ सय वर्ष पुरानो शैलीको मन्दिर निर्माण

नारायण शर्मा/पूर्वी नवलपरासी

गैंडाकोटको सिख्रौली घाटमा पुरातत्त्व विभागले करिब ४ सय वर्ष पुरानो शैलीमा कलात्मक शिव मन्दिर निर्माण गरेको छ । विभागले एक दशक लगाएर उत्खनन गर्दा फेला परेको भग्नावशेष मन्दिरका आधारमा ठिक त्यस्तै मन्दिर निर्माण गरेको हो ।

गैंडाकोटको हर्कपुर चोकदेखि दक्षिणतिर पर्ने नारायणी नदी किनारमा १६औं शताब्दीमा पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनको दरबार थियो भन्ने ऐतिहासिक कथन छ । भग्नावषेश रहेको दरबार क्षेत्रमा ४ सय वर्षअघि कुदिएका १५ सयभन्दा बढी ढुंगाका मूर्तिहरू रहेको विभागले जनाएको छ । भग्नावशेषका रुपमा रहेका ती सबै ढुंगा कलात्मक र ठूला छन् । मन्दिर निर्माणमा ती ढुंगाहरू प्रयोग गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवले बताए ।

प्रवक्ता कुँवरका अनुसार उत्खननका क्रममा फेला परेका मूर्तिहरूको अध्ययन गर्दा त्यहा तत्कालीन सेन वंशको दरबार र मन्दिर रहेको तथ्य फेला परेको हो । त्यसैका आधारमा अनुसन्धान गर्दा त्यहाँ ढुंगैढुंगाले बनेको शिव मन्दिर रहेको देखिएको प्रवक्ता कुँवरले बताए । त्यसैका आधारमा उति बेलाकै झैं हुबहु शैलीमा मन्दिर निर्माण गरिएको उनी बताउँछन् ।

भक्तपुरबाट मूर्तिकार बोलाएर २ वर्षको अवधिमा उक्त मन्दिर निर्माण गरिएको हो ।

कलात्मक शैलीको आर्कषक मन्दिर निर्माण गरिएपछि यहाँ आन्तरिक पर्यटक र दर्शनार्थीको भिड बढ्दै गएको छ । मन्दिर कति लागतमा निर्माण गरिएको भन्नेबारे भने विभागका प्रवक्ता कुँवरले बताउन चाहेनन् ।

प्रकाशित : २०७९ भदौ २१ गते ८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI