साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २१ गते १९:५५
साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरेपछि नेपालले मंगलबार साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई ४–० ले हराएको छ । यससँगै प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

आजको खेलबाट नेपालका अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यू गरेका थिए । उनै डेब्यू गरेकी अमिषाको पासमा सावित्राले गरेको गोलबाट नेपालले १२औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा एक शून्यले अग्रता लिएको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । सावित्राले ६८औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । साफमा सावित्राले भुटानविरुद्ध गरेको यो दसौँ गोल हो ।

७२औँ मिनेटमा अनिता बस्नेत तेस्रो गोल थपिन् । खेल सकिन पाँच मिनेट बाँकी हुँदा अनिताले व्यक्तिगत दोस्रो गोल थपेकी हुन् ।

महिला साफमा नेपाल र भुटान तीनपटक आमनेसामने भएका छन् । पाकिस्तानमा सम्पन्न २०१४ र भारतमा सम्पन्न २०१६ को संस्करणमा नेपालले भुटानलाई समान ८–० ले हराएको थियो । नेपालमै सम्पन्न २०१९ को संस्करणमा भने नेपाल ३–० ले विजयी भएको थियो ।

 

प्रकाशित : २०७९ भदौ २१ गते १९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI