भैंसी चराउन जाँदा बाघको आक्रमणबाट एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २६ गते ९:४०
भैंसी चराउन जाँदा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन-भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।

प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा २५ वर्षीय होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफूले भैंसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटोबाटै बेपत्ता भएका थिए ।

छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटोसमेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनी आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।

प्रकाशित : २०७९ भदौ २६ गते ९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI