एसिया कपको फाइनल आज- पाकिस्तान र श्रीलंका भिडदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २६ गते १३:५९
एसिया कपको फाइनल आज- पाकिस्तान र श्रीलंका भिडदै

काठमाडौं । एसिया कप आयोजना सुरू भएको १६ वर्षपछि सन् २००० मा मात्र पाकिस्तानले यो प्रतियोगिता पहिलोपटक जितेको थियो ।

सातौँ संस्करणको फाइनलमा पाकिस्तानले श्रीलंकालाई हराएर एसिया कपको उपाधि खडेरी चिर्‍यो । त्यसबीचमा फाइनलमै नपुगेको भने होइन । सन् १९८६ मा आयोजना भएको दोस्रो संस्करणमा पाकिस्तान फाइनल पुगेको थियो उपाधि भिडन्तमा श्रीलंकासँग निराश बन्यो ।

विश्वकपदेखि शारजाह कप र नेहरु कप जित्दासम्म पाकिस्तानलाई एसिया कपको उपाधि यात्रा भने लामो पर्खाइ बनेको थियो । सन् २००० पछि पाकिस्तानलाई फेरि एसिया कप जित्न १२ वर्ष लाग्यो ।

सन् २०१२ मा आयोजना भएको संस्करणको फाइनलमा पाकिस्तानले बंगलादेशलाई हराएको थियो । बंगलादेशको मिरपुरमा भएको उक्त फाइनलमा पाकिस्तान केवल २ रनले विजयी भएको थियो ।

दुई वर्षपछि आयोजना भएको अर्को १२ औँ संस्करणमा पनि पाकिस्तान फाइनलसम्म पुगेको थियो तर यसपटक श्रील‌ंकासँग पराजित भयो । एसिया कपको ३८ वर्ष लामो इतिहासमा पाकिस्तान चौथोपटक फाइनल पुगेको छ, यूएईमा जारी १५ औँ संस्करणमा । उसले फेरि एकपटक श्रीलंकालाई प्रतिद्वन्द्वी पाएको छ ।

श्रीलंकाले हालसम्म पाँचपटक यो प्रतियोगिता जितेको छ । अन्तिमपटक सन् २०१४ मा पाकिस्तानलाई हराएर विजेता बनेको थियो । पाकिस्तान तेस्रोपटक एसिया कप जित्ने प्रयासमा छ । जारी संस्करणमा यी दुवै टोली पहिलो खेलमै पराजित भएका थिए । अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको भोलिपल्ट भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।

तर, सुपर-४ मा दुवै टोलीले सानदार प्रदर्शन गरे। ६ पटकको विजेता भारतले पाकिस्तान र श्रीलंका दुवैसँग हार बेहोर्‍यो । फाइनलमा भिड्नुअघि सुपर-४ को अन्तिम खेलमा पाकिस्तान र श्रीलंका भिडेका थिए । उक्त खेलमा श्रीलंका ५ विकेटले विजयी भएको थियो ।

आईसीसी टी-२० विश्वकप आउन लागेकाले दुवै टोली एसिया कप जित्ने मनोबल उच्च बनाउने प्रयासमा छन् । प्रतियोगितामा पाकिस्तानका मोहम्मद रिजवान ५ खेलमा २ सय २६ रन जोडेर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् ।

श्रीलंकाका पाथुम निसांकाले एक सय ६५ र कुशल मेन्डिसले १५५ रन बनाएका छन् । बलिङतर्फ पाकिस्तानका मोहम्मद नवाजले ८, सदाब खानले ७ र नसिम शाहले ६ विकेट लिएका छन् । श्रीलंकाका दिल्सान मादुसांका र वानिन्दु हसरंगाले समान ६ विकेट हात पारेका छन् ।

प्रकाशित : २०७९ भदौ २६ गते १३:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI