No ads found for this position

आज राष्ट्रिय बाल दिवस मनाइँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते ८:११
No ads found for this position
आज राष्ट्रिय बाल दिवस मनाइँदै
No ads found for this position
काठमाडौँ । आज राष्ट्रिय बाल दिवस देशैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

यस वर्षको बालदिवस ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाइँदै छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।

दिवसका अवसरमा शुभकामा दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ ।

बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताउनुभएको छ ।

उहाँले उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उल्लेख गर्नुभएको छ ।

“बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

उहाँले मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उहाँले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुभएको बताउनुभएको छ ।

बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गर्नुभएको छ ।

उहाँले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २०७९ भदौ २९ गते ८:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI