साफ यू–१७ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिडदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते ९:०८
साफ यू–१७ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिडदै

नवलपुर ।  नेपाली युवा टोलीले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा उपाधिका लागि चीरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगिताको समूह चरणमा पनि नेपाल र भारत आमने सामने भएका थिए । समूह ‘बी’को अन्तिम खेलमा नेपालले भारतलाई ३–१ ले हराउँदै समूह विजेता बनेको थियो ।

आज नेपाल त्यही लयलाई दोहर्याएर उपाधि जित्ने लक्ष्यमा छ । भारत भने समूह चरणमा हारेको बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।

‘‘भारतसँगको खेल यसै पनि सहज हुँदैन । यो फाइनल हो । समूह चरणमा निकालेको जित फरक हो । फाइनल खेल भिन्न हुनेछ,’’ नेपाली यु–१७ टोलीका कप्तान प्रशान्तले फाइनल अघि भने, ‘‘भारत हामीमाथि दबाब कायम राख्न चाहन्छ । हामी उनीहरूसँग फाइनलमा हारको शृंखलालाई पूर्णविराम लगाउन चाहन्छौँ ।’’

नेपालले भारतविरुद्ध कोलम्बोको रेस कोर्स मैदानमा राति ८ः१५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारत भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भिडन्त पक्का गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेल नेपालका लागि सहज नहुने बताएका छन् ।

‘‘हामीले समूह चरणमा हराए पनि अब खेल्ने फाइनल हो । त्यो अवस्था फरक हुन्छ,’’ नेपालका प्रशिक्षक श्रेष्ठले भने, ‘‘भारतले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । उनीहरू बदला लिने सोचमा हुनेछन् । हामी पहिलो खेलमा जस्तै स्वाभाविक खेल खेल्छौँ । विशेष उपलब्धिबाट मात्र एक खेल टाढा छौँ ।”

प्रकाशित : २०७९ भदौ २९ गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI